एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमा सम्पन्न हुनेगरी अघिबढेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समय ५ वर्षभित्रै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताएका हुन् ।

उनले सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको जानकारी दिए । उनले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिए ।

उनले एमसीसी परियोजनामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने तथा सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने बताए ।

उनले भने- ‘एमसीसी सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्नेगरी कार्ययोजना स्वीकृत भई सोही अनुसार कार्य अगाडी बढेको छ । आयोजनाको सबस्टेशन निर्माणको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । ट्रान्समिशन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ । बाँकी काम तिब्र रुपमा अगाडी बढेको छ । एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ । प्रस्तुत आयोजना सम्पन्न भएपश्चात् नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने समेत जानकारी गराउन चाहन्छु ।’


क्लिकमान्डु