अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ: अर्थमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै मौद्रिक नीति आउने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने अर्थमन्त्रीले बताए।

होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको उनको भनाइ छ । नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको बताए ।

‘मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ,’ उनले भने, ‘विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ । जानुपर्छ, जाने नै हो । अलिकित अलिकति ढिलो भएको छ । हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ ।’

अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि वर्षेनी १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे । सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको बताए ।


क्लिकमान्डु