न्यारोबडीको इन्जिन परिवर्तन गराउँदा १ अर्ब घाटा भएको छानबिन प्रतिवेदन, निगम नेतृत्वको चरम लापरबाही



काठमाडौं । नेपाल वायुसेवा निगम नेतृत्वको कमजोरीले गत मंसिरदेखि वैशाखसम्म इजरायलमा गएर थन्किएको न्यारोबडी जहाजका कारण एक अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष रुपमै घाटा पुगेको अध्ययन समितिले औंल्याएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले निगमको ए३२० को (एनएकेएक्स)नामक लुम्बिनी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएर ५ महिनासम्म थन्काएको विषयमा छानबिन गर्न समिति गठन भएको थियो ।

उक्त समितिले तयार गरेको प्रतिवेदनमा निगम नेतृत्वको कमजोरीका कारण एक अर्ब रुपैयाँभन्दा बढीको घाटा भएको औंल्याएको हो । यस्तो घाटा निगमले सो समयमा गर्ने नियमित उडान, हवाई टिकट बिक्री सहितका वास्तविक आधारमा हिसाब गर्ने हो भने त्योभन्दा बढी हुने उल्लेख छ ।

निगम नेतृत्वले गरेको हेलचक्र्याई, जहाज मर्मतमा भएको ढिलाइ, निगमले छिटो मर्मत गरेर जहाज दिने विषयमा दबाब दिन नसकेको र अवाश्यक क्षतिपूर्ति दाबी गर्नसमेत नसकेको विषयमा निगम नेतृत्वको चरम कमजोरी भएको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ ।

एक महिनाअघि वाईडबडी जहाज इटाली लगिएको र त्यसअघि इजराजयलमा इन्जिन परिवर्तन गर्न गएको जहाजको विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गठन गरेको उक्त समितिले प्रतिवेदन पर्यटन मन्त्रालयलाई बुझाएका छ । उक्त प्रतिवेदन सार्वजनिक भने भएको छैन ।

वायुसेवा निगमले इन्जिन परिवर्तन गर्ने नाममा न्यारोबडी मंसिरदेखि वैशाख १६ गतेसम्म इजरायलमा थन्काएर कमजोरी गरेको र नियामक निकायको अनुमतिबिना इन्जिन बाहेकको सबै मर्मत (सीचेक)मा वाइडबडी जहाज पठाउनुलाई निगम नेतृत्वको चरम लापरवाही र कमजोरी भएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

उक्त प्रतिवदेनले निगमका कर्मचारीकै असहमति रहेको, निगमले सार्वजनिक खरिद ऐनको पालना नगरेको, जहाज मर्मतमा आवश्यक प्रक्रिया नै नमिलाउनु निगम नेतृत्वले तदारुकता देखाउन नसक्नु भएको उल्लेख गरिएको छ ।

निगम नेतृत्वको कमजोरीले प्रक्रिया पूरा नगरी काम गर्नु, कानूनी मूल्य मान्यताको पालना नगर्नु र नेतृत्वले सहयोग पनि नगर्नु भएको निष्कर्ष निकालिएको छानबिन समितिका एक सदस्यले क्लिकमान्डुलाई बताए ।

हाल वायुसेवा निगमको नेतृत्व युवराज अधिकारीले गरिरहेका छन् । उनलाई जहाज इटाली पठाएको विषयमा अनुमति नलिएको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अकाउन्टेबल मेनेजरबाट हटाउँदै कारबाही गरेको छ ।


क्लिकमान्डु