सितापाइलामा सेनाले सञ्चालनमा ल्यायो नयाँ पेट्रोल पम्प, देशभर ६ स्थानमा इन्धन बेच्दै सैनिक



काठमाडौं । नेपाली सेनाले राजधानीको सितापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सेनाले सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन सञ्चालनमा ल्याएको हो ।

पम्पको उद्घाटन प्रधान सेनापति प्रभुराम शर्माले गरे । प्रधान सेनापति शर्माले आजै काठमाडौंको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्‍घाटन गरे ।

नेपाली सेनाका अनुसार ५० हजार लिटर पेट्रोल तथा ५० हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् । नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौंको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् । नयाँ पम्पसमेत सेनाको पेट्रोल पम्प संख्या ६ पुगेको छ ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्य सहित उक्त फ्युल स्टेसनहरू सञ्चालनमा रहेको सेनाले जनाएको छ ।


क्लिकमान्डु