उद्योग र श्रम मन्त्रीसँग सीएनआईका पदाधिकारीको छलफलः महसुस हुने गरी सरकारले काम गर्ने प्रतिबद्धता



काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

आज शुक्रबार मन्त्रीद्वयलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईका पदाधिकारीहरुले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएका हुन् ।

परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।

यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उनले बताए । युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगिकरणलाई बढावा दिइनुपर्नेमा उनले जोड दिए । यस क्रममा शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने र लगानी गर्नसक्ने विश्वासको वातावरण बनाइनुपर्ने उनले बताएका थिए ।

यस अवसरमा उद्योगमन्त्री दामोदर भण्डारीले कोभिड १९ पछि बिग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले महसुस हुनेगरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको जानकारी दिँदै मन्त्री भण्डारीले अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको बताए ।

यस सरकारलाई काम नगर्ने छुट नभएको भन्दै मन्त्री भण्डारीले निजी क्षेत्रलाई स्पष्ट रुपमा समस्या र समाधानको उपाय दिन पनि आग्रह गरेका थिए । यसैगरी श्रममन्त्री सरतसिंह भण्डारीले यो सरकारप्रति आशा र भरोसा रहेको भन्दै सोही रुपमा काम गर्ने बताए ।

श्रममन्त्री भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने समेत बताए । यस अवसरमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति ध्रुव रिजाल, महानिर्देशक डा. घनश्याम ओझालगायतले दुबै मन्त्रीलाई सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


क्लिकमान्डु