अस्ट्रेलियाको एक्सेलसिया कलेजमा नेपालीलाई १५ हजार डलरसम्म छात्रवृत्तिको अवसर



काठमाडौं। एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजले जनाएको छ । सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई उत्साहपूर्वक रूपमा प्रवर्द्धन गरेको छ ।

विभिन्न प्रतिष्ठित सांगीतिक कार्यक्रममार्फत लगातार प्रतिभावान व्यक्ति जन्माएको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो मिसन नै तपाईंको प्यासनलाई पेशामा बदल्नूस्, आदर्श वाक्यमा आधारित छ, कलाकारहरूलाई आफ्नो करियरमा अगाडि बढ्नका लागि कौशलताप्रदान गर्ने हाम्रो प्रतिबद्धता हो ।’

७ वर्षयता एक्सेलसिया कलेजमा थुप्रै नेपाली विद्यार्थीले स्नातक उत्तीर्ण गरी सांगीतिक दुनियाँमा आफ्नो स्थान बनाउन सफल भएका छन् । एडुक्वेस्ट नेपालको सहकार्यमा हुने ७औं अडिसन अस्ट्रेलियामा संगीतमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरिएको छ ।

आगामी जुलाई २२ का दिन ठमेलस्थित पर्पल हेज रक बारमा अडिसन आयोजना हुने कलेजले जनाएको छ । उक्त अडिसनमा युवा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेर १५ हजार अस्ट्रेलियन डलरसम्मको छात्रवृत्ति जित्न सक्ने पनि कलेजले जनाएको छ । स्नातकमा ३ वर्षको १५ हजार र स्नातकोत्तरमा २ वर्षको ६ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति विद्यार्थीले प्राप्त गर्न सक्ने कलेजले जनाएको छ ।

प्रस्तुतिका क्रममा सहभागीले गितार, ड्रम, पियानो, बाँसुरीलगायतका वाद्यवादन र भोकलमा समेत प्रतिस्पर्धा गर्न पाउनेछन् । १८ देखि २३ वर्ष उमेर समूहका विद्यार्थीले उक्त अडिसनमा सहभागी हुन पाउनेछन् । जसका लागि १२ कक्षा उत्तीर्ण वा काठमाण्डू विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयबाट संगीतमा डिप्लोमा वा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कलेजले जनाएको छ ।

१२ कक्षा उत्तीर्ण विद्यार्थीका हकमा भने संगीतको आधारभूत ज्ञान भएको हुनुपर्नेछ । त्यसैगरी ब्यान्डको प्रस्तुतिका हकमा भने एकल सहभागिता मानिनेछ । व्यक्तिगत प्रस्तुकर्ताले भने छुट्टै मूल्यांकनमा सहभागी हुन पाउनेछन् ।

अडिसनको निर्णायकमा एक्सेलसिया कलेजको प्रदर्शन कला विभागका प्रमुख डा। लोट्टे लातुकेफु रद स्याडोज नेपाल र स्वर का लिड भोकलिस्ट स्वप्निल शर्मा रहेका छन् । अडिसनका विस्तृत जानकारी र आवेदन प्रक्रियाका बारेमा थप जानकारी एक्सेलसिया कलेजको आधिकारिक वेबसाइटमार्फत लिन सकिने कलेजले जनाएको छ ।


क्लिकमान्डु