ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो, निक्षेप ५ खर्ब



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहक संख्या ५० लाख नाघेको जनाएको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।

साथै, हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थामा अग्रणी स्थानमा रहेको बैंकले जनाएको छ ।

ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङको ‍अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।


क्लिकमान्डु