बैंकको मूल्यमा आएको बहारले सेयर बजारमा उत्साह, ६० अंकले बढ्यो नेप्से



काठमाडौं । नयाँ आर्थिक वर्षको तेस्रो दिन सेयर बजारमा ६० अंकको सुधार आएको छ । आर्थिक वर्षको पहिलो दिन ७०, दोस्रो दिन ५४ अंकले बढेको नेप्से परिसूचक नयाँ आवको तेस्रो तथा यस साताको अन्तिम दिन बिहीबार ५९.६८ अंकले बढेको हो ।

अर्थात् ३ दिनमा नेप्से १८४ अंकले सुधार भएको हो ।

कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको दिन नेप्से २.५२ प्रतिशतले बढेको हो । यस दिन कारोबारमा आएका ९५ कम्पनीको भाउ घटे भने ५ वटाको यथावत रहे ।

तीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जवि, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाएका हुन् ।

सेयर बजारमा भारी सुधार आए पनि कुमारी सबल योजना, सिन्धु विकास बैंक, गुहेश्वरी फाइनान्स, एनसीसी डिबेन्चर र श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनी सर्वाधिक गुमाउनेमा परे ।

बैंकिङ क्षेत्रमा आएको बहारले बिहीबार सेयर बजार बढ्न साथ दिएको छ । दिनभर बैंकिङ समूहतर्फ ३० हजार ७९६ कारोबार भयो । वाणिज्य बैंकहरुका कुल ८९ लाख ६६ हजार ८ सय ७७ कित्ता सेयर २ अर्ब २६ करोड ३५ लाख रुपैयाँमा किनबेच भए ।

सोक्रममा सबै १९ बैंकको सेयर मूल्य बढेका छन् । १९ मध्ये सबैभन्दा बढी मूल्य नेपाल इन्भेस्टमेन्टको बढेको छ । बैंकको मूल्यमा सर्किट लाग्दा कुमारी बैंकको भाउ ९.५३ प्रतिशत तथा प्रभुको ९.५१ प्रतिशतले वृद्धि भएको छ ।

धितोपत्रको दोस्रो बजारमा सबैभन्दा बढी मूल्य स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ६६० रुपैयाँ छ । यस्तै एभरेस्टको ६१० र नबिलको ५६७ रुपैयाँ छ ।

मूल्यका आधारमा बिहीबार सबैभन्दा बढी नबिलको २९ रुपैयाँले बढेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ अंकमा पुगेको छ ।

सेयर बजारमा भारी बहार छाएको दिन कारोबारमा पनि उत्साह छाएको छ । दिनभर १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएका छन् । सो क्रममा १ लाख ८४ हजार ७१२ कारोबारमार्फत् ३१२ स्क्रिप्टका ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार बजारमा ९ अर्ब १३ करोडको कारोबार भएकामा बुधबार १२ अर्बको सेयर किनबेच भएको थियो ।

१५ अर्बको कारोबार भएकामा सबैभन्दा बढी सेयर नेपाल फाइनान्सको भयो । सो फाइनान्सको ४२ करोड ४६ लाखको सेयर कारोबार हुँदा कारोबार रकमका आधारमा अपर तामाकोशी, ङादी ग्रुप, शाइन रेसुंगा र कुमारी बैंक शीर्ष ५ मा अटाए ।

नेप्से बढेको दिन वित्त र जलविद्युत बाहेक सबै उपसमूहमा बहार छाएको छ । तीमध्ये सबैभन्दा बढी सुधार बैंकिङ समूहमा ६.२८ प्रतिशतको वृद्धि भएको छ भने लघुवित्त समूह २.७७ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु