आक्रामक बुध्द एयरको बिजनेशमा छलाङः पाँच वर्षमा दोब्बर आम्दानी



बजारमा अन्य प्रतिस्पर्धी कम्पनीभन्दा अगाडि रहेको बुध्द एयरले लिएको रणनीति र ठूला जहाजमार्फत आन्तरिक उडान गरेका कारण यसले आफूलाई नेपाली उड्डयन क्षेत्रमा स्थापित गर्न सफल भएको हो । लामो समय यो वायुसेवासँग प्रतिस्पर्धा गर्ने अरु कम्पनी नै नआउनु पनि बुध्दका लागि एकल बजार निर्माण गर्ने अवसर बनिरहेको छ ।


काठमाडौं । व्यवसाय विस्तारमा आक्रामक बुध्द एयरले ब्यापारमा पनि छलाङ मारेको छ । आन्तरिक वायुसेवा प्रदायक बुध्द एयरको व्यापार पछिल्लो ५ वर्षमै दोब्बर भएको छ ।

कोरोना महामारीअघि सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको बुध्द एयरले सन् २०२३ मा आम्दानीलाई दोब्बर बनाउँदै १२ अर्ब १६ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ ।

सन् २०१८ मा बुध्द एयर एक्लैले १३ लाख २५ हजार यात्रु ओसारपसार गरेर ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी सन् २०२३ मा दोब्बर बनाएर १२ अर्ब १६ करोड रुपैयाँ बनाउन सफल भएको छ । सन् २०२४ को पहिलो तीन महिनामै बुध्द एयरको आम्दानी ३ अर्ब ८३ करोड रुपयाँ भएको यो वायुसेवाले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।

पछिल्लो समय बढ्दै गएको यात्रुसेवा र जहाज संख्याका हिसाबले सन् २०२४ मा यसले ३० लाख यात्रु पुर्याएर एकैवर्ष १५ अर्ब रुपैयाँ कारोबारको लक्ष्य अगाडि सारेको बुध्द एयरका वरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले बताए ।

जोशीका अनुसार बजार विस्तारमा बुध्द एयरले लिएको रणनीति, यात्रुप्रतिको विश्वास र समयानुकुलको जहाजसहितका कारण अपेक्षाकृत रुपमा आम्दानी बढाउन सकिरहेको छ । कोरोना महामारीका कारण सन् २०२० र सन् २०२१ मा यो वायुसेवाले पनि असहजता व्यवहोरेको थियो । त्यही असहजताबाट सहज बनाउन भएकाे प्रयासका कारण छिटो रिकभरी गरेर अगाडि बढ्न सकिएको पनि यो वायुसेवाले जानकारी दिएको छ ।

महामारीले समग्र पर्यटन क्षेत्रमै असर गरेको हुँदा बुद्ध एयरलाई पनि त्यतिबेला यात्रु सेवा तथा आम्दानी बढाउन गाह्रो भएको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अधिक बढेको, महामारीका कारण लागत बढेको र नाफा कम भएको हुँदा यात्रु संख्याका हिसाबले उल्लेख सेवा दिन सकिएपनि आम्दानीका हिसाबले भने सन् २०२१ निकै न्यून अवस्थामा गुज्रिनुपरेको जोशीले क्लिकमान्डुसँग बताए ।

‘बुध्द एयर सधैँ अरु वायुसेवा भन्दा अगाडि छ । यसको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी भएकोले पनि बुध्दको आम्दानी अन्य वायुसेवाको तुलनामा धेरै छ । बुध्द एयर एक्लैले उडाएको यात्रु नेपालका अन्य सबै वायुसेवाको भन्दा बढी देखिनु नै यो वायुसेवाप्रतिको यात्रुको विश्वास तथा बुध्दले दिएको यात्रुमैत्री सेवा हो । जसका कारण यस याे वायुसेवालाई अग्रणी बनाउन सकिएको हो’, जोशीको भने ।

सन् २०२४ को मार्चमा सार्वजनिक भएको एक तथ्यांक अनुसार बुध्द एयरले ८७ करोड रुपैयाँ दीर्घकालीन ऋणको रेटिङ गराएको छ । यो वायुसेवासँग अल्पकालीन ऋण ४५ करोडसहित कुल १ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

बुध्द एयर आन्तरिक वायुसेवामा सबैभन्दा बढी कर तिर्ने कम्पनी पनि हो । यसले गत वर्ष सन् २०२३ मा मात्रै ९४ करोड रुपैयाँ राज्यलाई कर तिरेको छ । यसमध्ये प्रत्यक्ष ५ करोड र अप्रत्यक्ष कर ८९ करोड रुपैयाँ रहेको छ । यो वायुसेवालाई सफलताको उचाइँमा पुर्याउन १५ सय कर्मचारीको साथ छ ।

काठमाडौंबाट पर्वतीय उडानसँगै यसले भद्रपुर, भरतपुर, पोखरा, राजविराज, भैरहवा, विराटनगर, नेपालगन्ज, धनगढी, सुर्खेत, जनकपुर, सिमरा, तुम्लिङटार, जनकपुरसहितको प्रादेशिक उडान पनि गर्छ । यसले भैरहवा, पोखरा, नेपालगञ्ज, भरतपुरसहितका विमानस्थलबाट पनि विभिन्न प्रदेशमा उडान गरिरहेको छ ।

यो वायुसेवाले काठमाडौंबाट भारतको वनारसमा पनि उडान गर्छ । यसले जनकपुरबाट अयोध्या उडान गर्ने तयारीसमेत गरिरहेको छ । भारतले अनुमति पर्खिरहेको याो वायुसेवाले पोखराबाट दिल्लीसमेत उडान गर्न चाहेको छ ।

१८ जहाज नियमित उडानमा, ७२ सिटको एटीआर मात्रै १५ वटा
२७ वर्ष अगाडि वीरेन्द्रबहादुर बस्नेतले १९ सीट क्षमताका १९०० डी बीचक्राफ्टबाट सेवा सुरु गरेको यो वायुसेवा छोटो समयमै बजारको अग्रणी कम्पनी भएको छ । बुध्द एयरसँग हाल एटीआर ७२-५०० नामको ७२ सिट क्षमताको १५ वटा छ ।

यो वायुसेवासँग एटीआर ४२ नामकै अर्को ३ वटा ४७ सिट क्षमताको गरी कुल १८ वटा हवाईजहाज छन् । यी जहाजमार्फत बुध्दले काठमाडौंबाट सहरी क्षेत्रका विमानस्थमा मात्रै उडान गर्छ । ठूला जहाजमार्फत् आन्तरिक उडान गर्ने र यात्रु क्षमताका हिसाबलेसमेत यो कम्पनी नेपालकै ठूलो वायुसेवा हो । ठूला जहाजमार्फत एकैपटक धेरैभन्दा धेरै यात्रुलाई सेवा दिने गरेको यो वायुसेवाले सहरी क्षेत्रका विमानस्थल अर्थात सुगम क्षेत्रमा जान्छ ।

साढे २ दशक अगाडि पर्वतीय उडान (माउन्टेन फ्लाइट) बाट सेवा सुरु गरेको बुध्दको पहिलो सेड्युल उडान काठमाडौं–पोखरा थियो । भैरहवा र विराटनगर हुँदै गन्तव्य विस्तार गर्दै गएको बुध्द एयर अहिले पनि सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुटमा)मा सेवा दिने अग्रणी वायुसेवा हो ।

सुरुवाती दिनमा जे जति सेवा दिन सक्ने क्षमताका जहाज थिए त्यसैलाई ब्राण्डिङ गरेर अगाडि बढेकोले अहिले बजारमा अग्रणी वायुसेवा बन्न सकिएको, बुध्द एयरका वरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले बताए ।

गन्तव्य विस्तार र जहाजको उडान क्षमता बढाउने क्रममा बुध्दले १९ सिट क्षमताका जहाज सञ्चालन गरेको १२ वर्षपछि ४७ सिट क्षमताको एटीआर ४२ जहाज भित्र्याएको थियो । आन्तरिक उडानमा क्षमता बढी भएका जहाज भित्र्याउँदा लागत कम पर्ने र लाभ बढी हुने निष्कर्षमा यो वायुसेवा पुगेकोले पनि यसले साना र कम सिट क्षमताका जहाजलाई ठूला र धेरै सिट क्षमताका जहाजले विस्थापित गर्दै गइरहेको छ ।

सुरुवातमा भित्र्याएको १९ सिट क्षमताको जहाजलाई सन् २०२३ देखि भने यसले एटीआरमार्फत विस्थापित गर्‍यो । एकै प्रकारका जहाज उडाउन सहज र लाभ हुने भन्दै बुध्दले सबै एटीआर जहाज मात्रै चलाउन थालेको हो । अहिले यो वायुसेवासँग एटीआर कम्पनीका मात्रै १८ वटा जहाज पुगेका हुन् ।

यसले जहाज सख्ंया बढाउने क्रममा सन् २०१० मादेखि भने एटीआर ७२ सिट क्षमताको जहाजमा प्रवेश गरेको हो । त्यसपछि ७२ सिट क्षमताकै जहाज प्राथमिकता राख्यो ।

बजारको आवश्यकताअनुसार जहाज थप गरेको र यात्रुको रुचीअनुसार उडान सहजीकरण गर्न सकेका कारण गत वर्ष सन् २०२३ मा यसले २५ लाख ७७ हजारलाई सेवा दिएको छ । पछिल्लो एक वर्षमा यो वायुसेवामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रने यात्रु १२ लाख ९१ हजार र बाहिरिनेको संख्या १२ लाख ८६ हजार छ । यसले औषतमा दैनिक ८ हजार यात्रुलाई सेवा दिइरहेको छ ।

पूर्वाधार, जहाज र सुविधाजस्ता कुरामा अब्बल भएको बुध्द एयर सफल हुनुको पछाडि थुप्रै कारणहरु छन् । पहिलो कारण त यो कम्पनीले पाएको समय हो । नेपालमा भएका अन्य वायुसेवा कम्पनीहरु बन्द भएको बेलामा बुध्द एयरले आफूलाई आक्रामक रुपमा विस्तार गर्न सकेको थियो । तर, आक्रामक रुपमा विस्तारले मात्रै पनि सफलता भने हात परेको होइन ।

बुध्द एयरले सधैं भन्ने कुरा यात्रुको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्ने छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुध्दको आफ्नै ह्यांगर पनि छ । अरु वायुसेवाभन्दा फरक रणनीति बनाएको सुगम क्षेत्रका विमानस्थलमा एकैपटक धेरै यात्रुलाई सेवा दिने र लागत कम गर्दै जाने उद्देश्यका कारण बुध्दले सफलता पनि पाउँदै गएको उल्लेख छ ।


राजु बास्कोटा