आन्तरिक उडानमा बुध्द एयरको बजार हिस्सा ६२ प्रतिशत, पौने २६ लाख यात्रु एक्लैले बोक्यो



काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुध्द एयरको बजार हिस्सा ६२.१० प्रतिशत छ । यो वायुसेवाले यात्रु उडानका हिसावले सबैभन्दा धेरै यात्रुलाई पछिल्लो एक वर्षमा सेवा दिएको छ ।

सन् २०२३ मा आन्तरिक उडानका ४१ लाख ५० हजार ३२६ यात्रुमध्ये बुध्द एयर एकल्लैले २५ लाख ७७ हजार ६१८ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले दिएको यस्तो यात्रु सेवा गत वर्ष सन् २०२२ मा २३ लाख ८७ हजार ८१२ रहेको थियो ।

बुध्द एयरले पछिल्लो एक वर्षमा बोकेको यात्रु संख्या अघिल्लो वर्षको तुलनामा जम्मा ७.९४ प्रतिशतले मात्रै बढी हो । बुध्द एयरको यस्तो यात्रु सेवा गत वर्ष २०२२ मा भने २४.८१ प्रतिशतले बढेको थियो ।

आन्तरिक उडानको यति एयरलाइन्सको यात्रु सेवा भने गत वर्ष सन् २०२३ मा ७ लाख १७ हजार ३० मात्रै रहेको छ । यस्तो यात्रु सेवा अघिल्लो वर्षको तुलनामा करिब २ लाखले घटेको छ । यति एयरलाइन्सले गत वर्ष ९ लाख ३७ हजार यात्रुलाई सेवा दिएको थियो ।

आन्तरिक उडानको श्री एयरलाइन्सले ६ लाख ५ हजार ३३८ यात्रुलाई सेवा दिएको छ । श्रीको यस्तो अघिल्लो वर्ष सन् २०२२ को तुलनामा घटेको छ । गत वर्ष सन् २०२२ मा श्रीले ७ लाख १७ हजार ५२३ यात्रुलाई सेवा दिएको थियो ।

आन्तरिक उडानको सीता एयरले गत वर्ष सन् २०२३ मा २१ हजार यात्रुलाई सेवा दिएको छ । यो वायुसेवा कम्पनीको भने अघिल्लो वर्ष सन् २०२२ को तुलनमा यात्रु संख्या करिब ६ हजारले बढेको छ । यसले गत वर्ष १४ हजार ६६१ यात्रुलाई सेवा दिएको थियो ।

अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर अग्रणी स्थानमा आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आन्तरिक उडानमा भने निकै कमजोर छ ।

जहाज संख्या कम भएको र दुर्गम क्षेत्रमा मात्रै उडान गर्ने साना जहाजका कारण यो वायुसेवाले गत वर्ष सन् २०२३ मा जम्मा १३ हजार २८७ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले अघिल्लो वर्ष सन् २०२२ मा १७ हजार ४१७ यात्रुलाई सेवा दिएको छ ।

नेपाल एयरलाइन्सले सन् २०२१ मा २० हजार २०८ यात्रुलाई सेवा दिएको छ । भएका जहाजको संख्या घट्दै गएको, उडान योग्य जहाजको सख्ंया न्यून भएको र थप जहाजबाट सेवा दिन नसकेकै कारण निगमको आन्तरिक उडान क्षमता वर्षेनी खस्कदै गएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।


क्लिकमान्डु