अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो, यी हुन् धेरै यात्रु बोक्ने १० एयरलाइन्स



काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा नेपाल एयरलाइन्स सबैभन्दा अगाडि छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुेवा कम्पनीलाई पछाडि पार्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अग्रस्थानमा आउन सफल भएको हो ।

काठमाडौं विमानस्थलमा भएको कुल उडान र अवतरणका ४५ लाख ४१ हजार १३७ यात्रुमध्ये नेपाल एयरलाइन्सको हिस्सा १४.२० प्रतिशत छ । निगमले नेपालबाट भएको उडान अवतरणमा ६ लाख ४५ हजार १६६ यात्रुलाई सेवा दिँदा दिएर अग्रणी स्थान कायमै राखिरहेको छ । त्यसो त नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा निगम सधैंजसो अगाडि नै आइरहन्छ ।

निगमले गत वर्ष सन् २०२३ मा ३ लाख ४५ हजार यात्रुलाई काठमाडौंबाट विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको छ। निगमले बाहिरबाट नेपाल ल्याएको यस्ता अन्तर्राष्ट्रिय उडानका यात्रु २ लाख ९७ हजार रहेको विमानस्थलको तथ्यांकले देखाएको छ ।

निगमले पछिल्लो एक वर्षका गरेको जम्मा ३ हजार ७८१ उडानबाट करिब साढे ६ लाख यात्रुलाई सेवा दिएको हो। यस्तो उडानमा काठमाडौंबाट भएको प्रस्थान १ हजार ८९० र आगमन १ हजार ८९० रहेको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज प्रयोग गर्दै आएको छ । यसमध्ये २५४ सिट क्षमताका २ वटा वाइडबडी र १५० सिट क्षमताका २ वटा न्यरोवडी जहाज छन् ।

नेपाल वायुसेवा निगमपछि यात्रु धेरै बोक्नेमा कतार एयरलाइन्स छ । यो वायुसेवाले पछिल्लो एक वर्षमा ६ लाख २७ हजार यात्रु बोकेको छ । यो वायुसेवाले पनि काठमाडौं बाहिर लगेको यात्रु ३ लाख २६ हजार रहेको छ भने काठमाडौं ल्याएको यात्रु ३ लाखमात्रै छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले पूर्णक्षमतामा यात्रु बोक्न पाएको छैन । निगमले पूर्णक्षमतामा यात्रु बोक्न पाउने हो भने अहिले भएकै जहाजबाट १० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिन सामान्य हुन्थ्यो ।

‘निगमले जहाज थप गर्न पाएकै छैन, यसले आवश्यकता अनुसा जहाज थप गर्न पाउने हो भने सधैं अगाडि मात्रै नभए यात्रुको रोजाईमा पनि पहिलो वायुसेवा भइरहन सकिन्छ,’ प्रवक्ता पौडेलले भने, ‘निगमप्रति सबैको आस्था छ तर जहाज अपेक्षा अनुसार थप गर्न नपाउनु नै यसको सबैभन्दा ठूलो समस्या हो ।’


क्लिकमान्डु