सन् २०२६ सम्ममा ३ वटा एटीआरसँगै १० ट्विनअटर विमान थप गर्दै बुध्द एयर



काठमाडौं । आन्तरिक हवाई उडानमा आक्रामक व्यापार गरिरहेको बुध्द एयरले विभिन्न तीन वटा गन्तव्यलाई हव बनाउँदै स्टोल रुटमा थप व्यापार बिस्तार गर्ने भएको छ ।

कम्पनीले पूर्वका लागि मन्थली, पश्चिमका लागि पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जलाई हव बनाएर स्टोल रुटमा पनि आक्रामकरुपमा व्यापार बिस्तार गर्ने भएको हो । यसका लागि कम्पनीले सन् २०२३ सम्ममा ४ वटा ट्विनअटर विमान समेत थप गर्ने योजना बनाएको छ ।

कम्पनीका अनुसार सन् २०२३ सम्ममा ४ वटा ट्विनअटर र सन् २०२४ सम्ममा थप २ वटा, सन् २०२६ मा थप २ वटा र सन् २०२६ मा थप २ वटा गरी १० वटा ट्विनअटर विमान थप गर्ने योजना बनाएको हो । १९ सिट क्षमता भएका ट्विनअटर विमान स्टोलरुटका लागि राम्रो मानिन्छ ।

कम्पनीका अनुसार अहिले पोखरालाई केन्द्र बनाएर नेपालगञ्ज, भैरहवा र भरतपुर तथा भरतपुर र भैरहवाको रुटमा राम्रो व्यापार भइरहेको छ ।

बुध्द एयरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णका अनुसार यसअघि पोखराबाट नेपालगञ्ज, भैरहवा र भरतपुरमा सातामा २ देखि ३ वटा उडान हुँदै आएकोमा हाल यात्रुको चाप बढेसँगै दैनिक उडान भइरहेका छन् ।

साथै, भैरहवा–भरतपुर–भैरहवा रुटमा पनि दैनिक उडान हुन थालेको छ ।

‘दुर्गमलाई सुगम, सहज र सबैको पहुँचमा पुग्ने गरी सन् २०२३ को शुरुवातदेखि अत्याधुनिक नयाँ विमानबाट हवाई सेवाका लागि हामी तयारी गर्दछौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक हवाई उडानमा ५५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको बुध्द एयरले केही समयभित्रै ३ वटा एटीआर ७२ विमान समेत खरिद गर्ने योजना बनाएको छ ।

हाल कम्पनीसँग एटीआर–७२ ५०० १० वटा, एटीआर ७२, ३०० ३ वटा र बीचक्राफ्ट १९००डी विमान २ वटा गरी १५ वटा विमान छन् ।


क्लिकमान्डु