सिटिजन्स बैंकको ८.९९% ब्याजमा घर कर्जा योजना सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवातसँगै नयाँ योजना ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकले ७ वर्षको लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मंगलबार सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने बताइएको छ ।

७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशतले प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिए । यस आकर्षक योजनामा सहभागी हुन नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिन्छ ।

घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिँदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासको लागि सातवटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु