सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री



आठौं पटक मन्त्री र पाँचौं पटक अर्थमन्त्री बनेका विष्णु पौडेलका आगामी योजना के छन् ?, अर्थमन्त्री नियुक्त भएको केही घण्टामै पौडेलले सार्वजनिक वित्तको विकल्प खोजिने बताएका छन् ।

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरेर सन्तुलित ढंगले अगाडी बढाउने बताएका छन् ।

सोमबार उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ तथा गोपनीयताको सपथग्रहण गरेपछि पदभार सम्हाल्न मन्त्रालय पुगेका पौडेलले यस्तो बताएका हुन् । पौडेल अर्थमन्त्री बन्ने हल्लाले पछिल्ला केही दिन सेयर बजार बढेको थियो ।

नवनियुक्त अर्थमन्त्री पौडेलले सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति नै बनाउने निर्णय गरेका छन् ।

‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्षहरु छन्, सबैसँग सहकार्य गरेर ती समस्या समाधान गर्नुपर्छ,’ मन्त्री पौडेलले भने,– ‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार अभिभावकको रुपमा अघि बढ्छ। त्यसैले मैले विकास वित्तका नयाँ विकल्प खोज्नेबारे अध्ययन गर्ने सम्बन्धमा समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

८ पटक मन्त्री, पाँचाैंपटक अर्थमन्त्री

पौडेल यो सहित ८ पटक मन्त्री बनेका छन् । ८ पटक मन्त्री बन्दा ५औं पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका हुन्।
उनी पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ, चौथो पकट २०७९ पुसमा उपप्रधान तथा अर्थमन्त्री बने ।

उनी अर्थमन्त्री बन्नुअघि २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म युवा खेलकुद तथा संस्कृती मन्त्री बनेका थिए । २०६५ भदौ ५ देखि २०६६ जेठ ७ सम्म जलस्रोत मन्त्री बनेका थिए । २०६७ देखि २०६८ भदौ ११ गतेसम्म पौडेल रक्षामन्त्री बनेका थिए । यो पटक पौडेलले बर्षमान पुनले ल्याएको बजेट कार्यान्वयन गर्ने भएका छन् ।

नेपाली काग्रेसका नेता डा रामशरण महत सात पटक अर्थमन्त्री बनेका थिए भने पौडेल पाँच पटक एउटै मन्त्रालयमा पुगेका हुन्।


क्लिकमान्डु