विष्णु पौडेल बने पाँचौ पटक अर्थमन्त्री



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्ने भएपछि अर्थमन्त्रीमा पौडेलको नाम चर्चामा रहेको थियो । चर्चा अनुसार नै पौडेल अर्थमन्त्री बनेका छन् । पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सेयर बजारमा समेत सुधारको संकेत देखिएको छ । पौडेल नीजि क्षेत्रका साथै सेयर बजारका लागि पनि निकै रुचाइएका मन्त्रीको रुपमा चिनिन्छन् ।

पौडेल यो सहित ८ पटक मन्त्री बनेका छन् । ८ पटक मन्त्री बन्दा ५औं पटक अर्थ मन्त्रालयको बागडोर सम्हाल्दैछन् ।
उनी पहिलो पटक २०७२ कात्तिक र दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ, चौथो पकट २०७९ पुसमा उपप्रधान तथा अर्थमन्त्री बने ।

उनी अर्थमन्त्री बन्नुअघि २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म युवा खेलकुद तथा संस्कृती मन्त्री बनेका थिए । २०६५ भदौ ५ देखि २०६६ जेठ ७ सम्म जलस्रोत मन्त्री बनेका थिए । २०६७ देखि २०६८ भदौ ११ गतेसम्म पौडेल रक्षामन्त्री बनेका थिए । यो पटक पौडेलले बर्षमान पुनले ल्याएको बजेट कार्यान्वयन गर्ने भएका छन् ।

नेपाली काग्रेसका नेता डा रामशरण महत सात पटक अर्थमन्त्री बनेका थिए भने पौडेल पाँच पटक एउटै मन्त्रालयमा पुगेका हुन्।


क्लिकमान्डु