२० घण्टापछि धावनमार्गमा फर्काइयो चिप्लिएको बुध्द एयरको जहाज



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्गमा चिप्लिएको बुध्द एयरको बिमान २० घण्टा पछि धानवमार्गमा फर्काइएको छ । बुद्ध एयरको प्राविधिक टिमले शुक्रबार साँझ ६ बजे रनवेबाट निकालेको हो ।

बिहीबार साँझ साढे ८ बजे धानवमार्गमा चिप्लिएर फसेको बिमान २० घण्टापछि रिकभर गरिएको बुध्द एयरले जानकारी दिएको छ ।

घट्नालगत्तै बुध्द एयरले ‘इमरजेन्सी रिसपोन्स प्लान’लाई तदारुकताका साथ लागु गरेको दाबी गरेको छ । त्यसैबखत काठमाडौंबाट अर्को जहाजमा उद्धार सामग्री÷टुल्स तथा टेक्निकल टिम लिई राति साढे १ बजे भैरहवातर्फ उडान गरेको थियो ।

बिहीबार खराब मौसमका कारण उडानहरु प्रभावित भएका थिए । यसै क्रममा उडान नं. ८०५ जहाज काठमाडौंबाट भैरहवा साँझ साढे ७ बजे उड्नुपर्नेमा बेलुका ९ बजेमात्र गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।

भैरहवा विमानस्थलमा अवतरण गरेलगत्तै विमान धावनमार्गको आधा बाटो नपुग्दै एक्कासि भारी वर्षा भएको बुध्दले जनाएको छ । पाईलटले जहाज रोक्ने र नियन्त्रण गर्ने भरपुर प्रयास गर्दागर्दै ‘हाइड्रोप्लानिङ’को कारणले जहाज धावनमार्गबाट चिप्लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यस किसिमको ‘हाइड्रोप्लानिङ’ घटना यदाकदा मात्रै हुने गरेको कम्पनीको दाबी छ ।

जहाज रोकिनासाथ पाईलटले भैरहवा एयर ट्राफिक कन्ट्रोलरलाई जहाजको स्थितिबारे जानकारी गराएका थिए । पाईलटले जहाजको स्थिति मूल्यांकन गरेर यात्रुहरुलाई सामान्य रुपमा जहाजबाट ओरालेका थिए । त्यसबखत पनि भैरहवा विमानस्थलमा भारि वर्षा भइरहेको हुँदा बुध्द एयरका ग्राउण्ड स्टाफ तथा भैरहवा विमानस्थलका कर्मचारी मिलेर सबै ५६ जना यात्रुहरुलाई एराइभल टर्मिनलमा पुर्‍याएका थिए ।


क्लिकमान्डु