सरकार ढलेपछि नयाँ प्रधानमन्त्री छान्‍ने अबको प्रक्रिया यस्तो



काठमाडौं । संसद्‍का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नयाँ गठबन्धन बनेसँगै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

शुक्रबार संसद्‍मा विश्वासको मत लिने क्रममा जम्मा ६३ मत पाएका दाहाल तेस्रो पटक प्रधानमन्त्रीबाट हट्नु परेको हो ।

संसद्‍बाट विश्वासको मत लिन नपाएपछि दाहाल स्वत: पदमुक्त भएका हुन् । दाहालले कार्यकाल सम्हालेको १९ महिनामा पाँच पटक विश्वासको मत लिनु परेको थियो ।

प्रचण्ड हालका लागि भने कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहेका छन् । संविधानको धारा १०० (३) अनुसार संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसक्ने प्रधानमन्त्री स्वत: पदमुक्त हुन्छ । कांग्रेस र एमालेको सहमति अनुसार अबको प्रधानमन्त्री केपी ओली बन्ने छन् ।

अब नयाँ प्रधानमन्त्री बनाउने प्रक्रिया के हुन्छ ?

दुई सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक हुन्छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ र एमालेले ७८ सांसद रहेका छन् ।

कांग्रेस र एमालेका नेताहरूले संविधानको धारा ७६ (२)अनुसार सरकार गठन हुने बताउँदै आएका छन् ।

यसरी दुई दलको सहमति अनुसार नयाँ गठबन्धनबाट दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्ने शुक्रबार प्रतिनिधि सभा बैठका कांग्रेस सांसद रमेश लेखकले बताए ।

यद्यपि नेकपा माओवादी केन्द्रका सांसदहरुले ७६ (२) अनुसार बनेको दाहाल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा ७६ (३)अनुसार सरकार गठन हुनु पर्ने बताउँदै आएका छन् । धारा ७६ (३)अनुसार संसद्‍मा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था छ । यसरी संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिले प्रक्रिया अगाडि बढाए भने कांग्रेसका सभापति शेरबहादुर देउवा स्वत: प्रधानमन्त्री नियुक्त हुने छन् ।

तर दुई दलको सहमति भए अनुसार कांग्रेस-एमाले गठबन्धनले अबको प्रधानमन्त्रीमा केपी ओलीलाई अगाडि सारेको छ ।नेपाली कांग्रेसबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले संविधानको कुन धारामा टेकेर नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउलान् भन्ने चासो देखिएको छ ।

शुक्रबार दाहाल पदमुक्त भएपछि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । दाहालले शुक्रबार संसदमा भएका गतिविधि राष्ट्रपतिलाई जानकारी गराउने छन् ।

यसबीचमा राष्ट्रपति पौडेलले संवैधानिक प्रक्रियाका सम्बन्धमा परामर्श लिनका लागि शुक्रबार संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् ।

सरकार बन्न सक्ने अवस्थामा धारा ७६ का उपधाराहरू दोहोर्‍याएर प्रयोग हुन सक्ने संविधानविद् भीमार्जुन आचार्य बताउँछन् । कोशी प्रदेशमा सरकार गठनका विषयमा सर्वोच्चको एउटा नजिर रहेको उनले बताए । त्यस आधारमा ७६ (२) अनुसार सरकार गठनमा वाधा हुने छैन ।


क्लिकमान्डु