पहिलो पटक २६८ ले गरेका थिए प्रचण्डलाई विश्वास, पाँचौं पटकमा ६३ सांसद मात्र साथमा

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभामा पाँचौ पटक विश्वासको मत मागेका प्रचण्डको पक्षमा ६३ मत पर्दा विपक्षमा १९४ मत परेको छ भने दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

झण्डै १९ महिना प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटकको तुलनामा २०५ सांसदको विश्वास गुमाएका हुन् ।

२०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहालले पहिलोपल्ट पुस २६ मा विश्वासको मत लिएका थिए ।

मंसिरको निर्वाचनका कांग्रेससँग गठबन्धन गरे पनि चुनावपछि एमालेको समर्थनमा प्रधानमन्त्री भएका उनलाई प्रमुख प्रतिपक्ष कांग्रेसले पनि विश्वासको मत दिएको थियो । त्यति बेला प्रचण्डले झन्डै सर्वसम्मत अर्थात् २६८ मत पाएका थिए ।

एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले केपी ओलीको साथ छाडेर कांग्रेससँग जोडिएपछि दोस्रो पटक विश्वासको मत लिएका थिए । २०७९ चैत ५ मा विश्वासको मत लिएका प्रचण्डले १ सय ७२ मत पाएका थिए ।

तर प्रचण्डले कांग्रेसको साथ छाडेर प्रचण्ड पुन एमालेको साथमा पुगे । कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग गएपछि प्रचण्डले पुन विश्वासको मत लिएका थिए । गत फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिँदा उनले १५७ मत पाएका थिए । सरकारमा सहभागी जसपा नेपाल सरकारबाट अलग भएपछि उनले २०८१ जेठ ७ मा चौथो पटक विश्वासको मत लिएका थिए । त्यति बेला पनि उनले १५७ मत नै प्राप्त गरे ।

चार पटक विश्वासको मत माग्दा पाएका प्रचण्डले आज पाँचौ पटक विश्वासको मत मागेका हुन् । एमाले र कांग्रेसले सत्ता सहकार्यको सहमति गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसदबाट विश्वासको मत परीक्षण गरेका हुन् ।

एमाले र कांग्रेससहितका अधिकांश दल विपक्षमा रहँदा प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी लगायतले विश्वासको मत दिएको हो ।

यससँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहयात्राको सहमति भइसकेको छ । ती दलका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । संसदले राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डले विश्वास गुमाएको जानकारी दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।


क्लिकमान्डु