भैरहवा-अबुधावी उडान १३ हजारमै गर्ने वीज एयरको प्रस्ताव, छुट दिए नियमित उडान गर्न ३ वायुसेवा इच्छुक



काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावी १३ हजारमै उडान गर्ने प्रस्ताव वीज एयरले गरेको छ । युएईको वायुसेवा कम्पनी वीजले सरकारले उड्डयन लागतमा छुट दिए अवुधाबीबाट भैरहवा रुटमा नियमित उडान गर्ने इच्छा देखाएको छ ।

यो वायुसेवाले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अबुधावीको एकतर्फी भाडा औषतमा १ सय डलर (करिब १३ हजार रुपैयाँ) मात्रै तोकेर उडान सुरु गर्न चाहेको बताएको छ ।

काठमाडौंबाट हुने अवुधावी उडानको भाडादर अहिले औषतमा ४० हजार रुपैयाँ छ । जजीराले भैरहवामा प्रस्ताव गरेको भाडादर नेपाली यात्रुका लागि सस्तो सेवा मात्रै नभएर नयाँ उडान गन्तव्यलाई स्थापित गराउने प्रयास पनि भएको नेपाली ट्राभल व्यवसायीको भनाइ छ ।

जजीराले सन् २०२३ को फेब्रुअरी १६ देखिनै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणमा आवश्यक छुट पाएको अवस्थामा नियमित उडान गर्ने इच्छा देखाएको छ । यसका लागि वीज एयरले आफ्नो जनरल सेल्स एजेन्टस (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल मार्फत पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ ।

गौतमबुद्ध विमानस्थलमा हालसम्म कुनै वायुसेवाले उडान नगरेको हुँदा अन्तर्राष्ट्रिय ट्राफिकको कुनै प्रमाणित रेकर्ड बिना नयाँ स्थापित विमानस्थलमा उडान सुरु गर्नु व्यवसायिक जोखिम भएको भए पनि वीज एयरले भने उडान गर्न चाहेको बताएको छ । यो वायुसेवाले विशिष्ट उद्यमशील व्यापार मोडेलको साथ केही शर्तशरु राखेर त्यसलाई पूरा गरेको अवस्थामा नियमित उडान गर्ने भएको छ ।

सरकारले उड्डयन सञ्चालनमा सहजीकरण गरेको र वायुसेवाले उडानमा देखेको बाधाको समाधान गरिदिएको अवस्थामा कुवेतको जजीरा एयरवेजले पुनः उडान सुरु गर्ने भएको छ भने बंगलादेशको एयर अस्ट्राले पनि उडान गर्ने भएको छ । जजीरा, अस्ट्रा र वीज एयर तीनवटैको जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल हो । नेपालमा उडान इच्छा देखाको वायुसेवाको मागलाई सम्बोधन गरेर नयाँ विमानस्थबाट हुने उडान अवतरणमा सहजीकरण गरिदिन जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलले आग्रह गरेको छ ।

जजीरा एयरवेजले गौतमबुद्ध विमानस्थमा १० महिननमा १२५ वटा उडानमार्फत १६ हजार ६२५ यात्रुलाई सेवा दिएर उडान बन्द गरेको थियो । यो वायुसेवाले पनि आवश्यक सेवा र छुट सुविधा दिए फेरि उडान गर्न चाहेको छ ।

भैरहवामा उडान गर्न भ्याट छुटसहितको ५ सुविधा माग

भैरहवामा विमानस्थमा उडान गर्न चाहने वायुसेवाले भ्याट छुट मागेका छन् । हवाई टिकटमा लागू हुने १३ प्रतिशतको भ्याटमा ३ वर्षसम्म छुट दिइनुपर्ने, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा ३ वर्षसम्म नै छुट दिनुपर्ने माग गरेका छन् । गौतमबुद्ध विमानस्थलको लागि प्रयोग हुने हवाई इन्धनमा छुट दिनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक यात्रुबाट लिएको ३ हजार शुल्क भैरहवाको लागि छुट दिनुपर्ने र भैरहवा तथा पोखरा विमानस्थलमा टिकट बिक्री वापत लाग्ने राजस्वमा ५ प्रतिशत छन ३ वर्षसम्म दिनुपर्ने माग जजीरा, वीज र एयर अस्ट्राले गरेको सोसाइटी ट्राभलले सरकारी निकायमा अवगत गराएको छ ।

क्षेत्रधिकारको सबै छुट दिइसकिएको छ: प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने आफ्नो क्षेत्राधिकाको छुट दिएर अन्तर्राष्ट्रिय उडानको लागि सहजीकरण गरिएको दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ‘नेपाल वायुसेवा निगममार्फत ग्राउण्ड ह्याण्डलिङमा ५० प्रतिशत छुट दिइएको छ । प्राधिकरणले आफ्नो मातहत र क्षेत्राधिकारको सबै सेवा सुविधा दिइसकेकोले अब कर छुट, भ्याटमा छुटदेखिका सुविधा भने अर्थ मन्त्रालयमार्फत हुनुपर्ने हो ।’ अर्थ मन्त्रालयसमक्ष ती वायुसेवाले माग गरेको सेवा सुविधा र छुटको विषयमा जानकारी गराइसकेको पनि उनलेब बताए ।

प्राधिकरणले हाल ल्याण्डिङ, पार्किङ, नेभिगेसनसहितमा छुट दिएको छ । उक्त छुट अहिलेको लागि सम्बन्धित वायुसेवाको लागि सहजीकरण गर्न नै गरेको उनले बताए । केही समय उडान गर्न र त्यसपछि बन्ने बजार र सेवाग्राहीबाट आउने प्रतिकृयाका आधारमा थप सेवा, सुविधा दिन सकिने उनको भनाइ छ । बजार बसिकेपछि र एउटा सिस्टम बनेपछि वायुसेवाले पनि कमाउन थाल्ने र त्यस बेला कर तिर्ने, छुट सुविधालाई हटाउँदै जाने अवस्था पनि हुनसक्ने उनी बताउँछन् ।

अहिलेको आवश्यकता सम्बन्धित वायुसेवालाई उडान अवतरणमा छुट दिने र सहजीकरण गर्ने भएकोले सो काम प्राधिकरणले गरिरहेको पनि भुलले बताए ।


क्लिकमान्डु