आरबीबी सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको कारोबार सुरु



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गते बुधबारबाट सञ्चालनमा आएको छ ।

धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैंया रहेको छ ।

सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० साउन ३२ गते स्वीकृति प्राप्त गरेको आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडको वि.सं. २०८१ माघ ३ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको थियो ।

त्यसैगरी सीडीएस एण्ड क्लियरिङ लिमिटेबाट २०८१ माघ २३ मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ । ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासाथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायवाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

वित्तीय क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरुको सञ्चालक समितिबाट निर्देशित आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि अग्रणी कम्पनी बन्ने लक्ष्य राखेको छ । दरबारमार्ग, काठमाडौंमा रहको कार्यलयबाट कम्पनीले हाल आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु