विदेशी आउँदा ७६ अर्ब आम्दानी, नेपाली विदेशिदा १ खर्ब ७५ अर्ब खर्च




काठमाडौं । नेपालमा भित्रने विदेशी भन्दा नेपालबाट बाहिरिने नेपालीले गर्ने खर्च ५८ अर्ब रुपैयाँले बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार नेपाल भित्रनेबाट भएको आम्दानीभन्दा बाहिरिनेले गरेको खर्च अधिक देखिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्ममा खुद सेवा आय ५८ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले वृद्धि भएर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड रहेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार जेठसम्ममा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले वृद्धि भएर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ यसमध्ये नेपालबाट विभिन्न मुलुकमा पढ्न गएका नेपालीले गरेको खर्च मात्रै १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

नेपाली बाहिरिँदा भएको यस्तो खर्च अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३० अर्ब रुपैयाँ मात्रै भएको पनि केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । उस्तो खर्चमा शिक्षातर्फको व्यय मात्रै ८९ अर्ब १८ करोड रहेको पनि उल्लेख छ।


क्लिकमान्डु