पतन्जलीका १४ उत्पादन बजारबाट फिर्ता, विज्ञापन पनि रोकियो



लाइसेन्स खारेज भएपछि पतन्जलीले आफ्ना १४ उत्पादनहरुको बिक्री र मिडियामा तिनको विज्ञापन पनि रोकेको भन्दै अदालतलाई जवाफ पठाएको छ

एजेन्सी । भारतीय योग गुरु रामदेवको पतन्जली आयुर्वेद लिमिटेडको लाइसेन्स खारेज भएपछि यसले उत्पादन गर्ने १४ वटा औषधिजन्य वस्तुहरु अब बिक्री नहुने भएका छन् । बाबा रामदेवले सर्वोच्च अदालतलाई आफ्नो कम्पनीले १४ वटा आइटमको उत्पादन रोकेको जानकारी गराएका छन् ।

गत अप्रिलमा उत्तराखण्ड राज्यको लाइसेन्स प्रदान गर्ने प्राधिकरणले पतन्जलीको लाइसेन्स खारेज गरिदिएको थियो । पतन्जली आयुर्वेद लिमिटेडले सर्वोच्च अदालतका न्यायाधीश हिमा कोहली र सन्दीप मेहताको इजलासलाई लिमिटेडले ५ हजार ६ सय ६ वटा फ्रेन्चाइजी स्टोरहरुलाई आफ्ना उत्पादन फिर्ता गर्न निर्देशन दिइसकेको जानकारी दिएको छ ।

यस्तै पतन्जलीले विभिन्न मिडियालाई पनि ती १४ वटा उत्पादनको विषयमा प्रशारण हुने सबै विज्ञापन रोक्न पनि आग्रह गरिसकेको जनाएको छ ।

पतन्जलीलाई अदालतले दुई हप्ताभित्र आफ्नो जवाफ पठाउनका लागि निर्देशन दिएको थियो । जसमा सामाजिक सञ्जालहरुबाट प्रशारण भएका पतन्जलीका उत्पादानहरुको विज्ञापन रोकिएको छ कि भन्ने विषयमा अदालतको प्रश्न थियो । पतन्जलीको मुद्दाको अर्को सुनुवाइ अदालतले आगामी जुलाइ ३० गतेका लागि तय गरेको छ ।

भारतको सर्वोच्च अदालतमा इन्डियन मेडिकल एसोसिएसन (आईएमए)ले दायर गरेको मुद्दामा सुनुवाइ भइरहेको छ । जसमा पतन्जलीले कोरोना महामारीमा खोप अभियान तथा चिकित्साको आधुनिक प्रणालीविरुद्ध त्यसको बदनाम गराउँदै आफ्ना उत्पादन बिक्री गरेको आरोप लागेको थियो ।

सर्वोच्च अदालतले भने पतन्जलीलाई उसका उत्पादन बिक्री गर्न दिन नहुने आदेश दिएको छ । साथै यसको लाइसेन्स पनि खारेज गरिएको छ । उत्तराखण्ड प्रान्त सरकारले भने यसअघि नै पतन्जलीको लाइसेन्स खारेज गरिसकेको हो ।


क्लिकमान्डु