शिवशिखर सहकारीको गार्डेन मार्ट र फर्निचर करिब सवा करोडमा बिक्री गरिँदै, बचत फिर्ता हुने



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित गार्डेन मार्ट र फर्निचर करिब सवा करोडमा बिक्री गर्ने भएको छ ।

ललितपुर जिल्ला, गोदावरी नगरपालिका–१४, ठैबमा रहेको मार्ट र फर्निचर समितिले बिक्री गर्न लागेको छ । त्यसका लागि सात दिनको सूचना समेत जारी गरेको छ ।

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको छ ।

ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४, ठैबस्थित गौरी लाल श्रेष्ठको नाममा रहेको कित्ता नं ३२८ क्षेत्रफल १ रोपनी २ आना जग्गामा संस्थाबाट संरचना निर्माण गरी गार्डेन मार्ट तथा सहकारी संस्थाको शाखा सञ्चालनमा रहेको थियो ।

गार्डेन मार्टको संरचना, मार्ट भित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्यूटर उपकरणहरुको न्यूनतम एकमुष्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८३५ रुपैयाँ रहेको छ ।

सहकारी ऐन, २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड (ज) बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचविखन गर्नु पर्ने भएकोले घरधनी, बचतकर्ता वा बाह्य इच्छुकले यो रकमभन्दा कम नहुने गरी बढी बढाउमा सकार्न चाहेमा ७ दिनभित्र समितिको कार्यालय बुद्धनगरमा गोप्य शिलबन्दी निबेदन दिने भनेको छ । सामान बिक्रीबाट आएको पैसा बचतकर्तालाई फिर्ता गरिने बताइएको छ ।


क्लिकमान्डु