यार्सागुम्बा टिप्न हिमाल गएको बेला गाउँमा लुटपाट गर्ने ३ जना पक्राउ



काठमाडौं । मुगुको मुगम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा भएको २४ घर र सार्वजनिक गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट भएको थियो।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–३ बस्ने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र कमल थापा रहेका छन् ।

सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना, अन्दाजी ३५ तोला सुन, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति २ वटा, रिणमोक्षको मुर्ति वटा १, मुगाको माला अन्दाजी ९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार रुपैयाँ लुटपाट गरेको स्थानीयहरुले प्रहरीमा जाहेरि दिएका थिए ।

घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश सिंहको कमाण्डमा प्रहरी खटाएर विभिन्न ७ वटा स्थानमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, कालिकोट, डोल्पा र हुम्ला प्रहरीसँग समन्वय सहकार्य गरि नाकाहरुमा प्रहरी परिचालन गरेको थियो ।

त्यसक्रममा प्रहरीले सुनको रिङ र माडुली २ थान जुम्लामा बिक्रि गरिसके पश्चात जिल्ला प्रहरी कार्यालय जुम्ला मार्फत बरामद गरेर दाखिला गरिएको प्रहरीले जनाएको छ ।

असार २१ गते जुम्लाको पातारासी गाउँपालिका– ३ चुनेकाँध भन्ने स्थानको ढुङगाको ओढारमा लुकाएर राखेको अवस्थामा एसएलआर १ थान डबल स्कु निकाली हतियारलाई दुई भागमा टुक्राई पाठ पुर्जाहरू अलग अलग पारिएको म्याग्जिन २ थानको गोली २५ राउण्ड, कटुवा पेस्तोल १ थान , झोला १ थान, कम्ब्याट रंगको रेनकोट ५ जोडी, कालो रंगको सल कपडा १ थान, हैण्डसेट ३ थान र बाईना कुलर १ थान बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र फरार व्यक्तिहरुको पहिचान गर्नुका साथै खोज तलास कार्य तिब्रता रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु