बचतकर्ताको करिब ९ करोड ठग्ने स्क्वायर सहकारीका ८ जना विरुद्ध मुद्दा दायर, पाँच जना फरार



काठमाडौं । बचतकर्ताको ८ करोड ८० लाख ४० हजार ४९२ रुपैयाँ ठगी गर्ने स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ८ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बचतकर्ताको उक्त रकम ठगेको पाइएपछि संस्थाका अध्यक्ष बासुदेव मान जोशीसहित सुवर्ण काजी सेलालिक, धर्म रत्न महर्जन, प्रशान्तराज तुलाधर, कमलेश्वरी ताम्राकार, ज्ञानेश्वर डंगोल, पुनम श्रेष्ठ र रेशमा बज्राचार्यले सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा घ, ङ र च बमोजिम कसूर गरेको ठहर भएको छ । उनीहरुलाई सोही ऐनको दफा १२४ को १ को घ र ४ बमोजिम सजाय मागदावी गर्र्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बचतकर्ताको उक्त रकम ठगेर संस्थाका ५ जना फरार रहेका छन् भने अध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका कार्यक्षेत्र रहेको संस्थाले बचतकर्तालाई ठगेको भन्दै उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष बासुदेव मान जोशी, संस्थाका सचिव सुवर्णकाजी सेलालीक र सदस्य धर्म रत्न पाछै रहेका छन् ।
फरार रहनेमा संस्थाका कोषाध्यक्ष तथा व्यवस्थापक प्रशान्तराज तुलाधर, सदस्य कमलेश्वरी ताम्राकार, ज्ञानेश्वर डंगोल, पुनम श्रेष्ठ र रेशमा बज्राचार्य रहेका छन् ।

काठमाडौं महानगरपालिका–२३ मख्खनमा रहेका सहकारीले बचत फिर्ता नगरेको भन्दै महानगरको सहकारी विभागमा उजुरी परेको थियो । उजुरी परेपछि विभागले अनुगमन गरेको थियो । अनुगमनको क्रममा कैफियत भेटेपछि थप अनुसन्धानका लागि सीआईबीमा पठाएको थियो ।

२०६६ साल वैशाखमा दर्ता भएको संस्थामा स्थापना कालदेखि नै अध्यक्ष जोशी नै रहेका छन् । उनीहरुले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै बचत संकलन गरेको थियो । सुरुमा मख्खनमा रहेको सहकारी कोरोना पछि बालाजुमा सारिएको थियो ।


क्लिकमान्डु