विपन्नको स्वास्थ्य बीमाको रकम नोबेल मेडिकल कलेजले तिर्ने



मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ ।

नोबेलका सञ्चालक डा सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ ।

‘सरकारले एक परिवारको बीमाका लागि रु दुई हजार ५०० लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ,’ शर्माले भने ।

शर्माले विपन्न, दलित  तथा अल्पसंख्यक परिवारका २०० जना विद्यार्थीलाई निःशुल्क  प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने जानकारी दिए ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले दुई सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

‘आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका १५० बढी रोगी बिरामीको नोबेल अस्पतालमा उपचार गराइरहेका छन्,’ शर्माले भने ।


क्लिकमान्डु