जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुन्छ: गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए । उनले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताए ।

उनले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए । उनले जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतिक्षाको विषय बनेको बताएका थिए ।

‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी(जिबी राई) मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्युसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु । दुवैतर्फका राज्यस्तरिय संयन्त्रहरु संवादमा छन् र यि दुवै देश कानुनी राज्य भएका देश भएका हुनाले हामीले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा जानकारी गराउन चाहान्छु । नेपाल र मलेसियाबिच सुपुर्दगी सन्धी नभए पनि मलेसियाको सुपुर्दगी ऐन अन्तर्गत सन्धी नभएका मुलुकको अनुरोधमा आरोपितलाई सुपुर्दगी गर्न सक्ने व्यवस्था अन्तर्गत निरन्तर काम भइरहेका छन्,’ गृहमन्त्री लामिछानेले भनेका छन्,’मलेसियाका गृहमन्त्रीसँगको दुईपटकको वार्ता जसमा सकारात्मक जवाफ मलेसिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरु पठाउने क्रमको निरन्तरता, जीबी राईको राहदानी खारेजी प्रक्रियाहरु अगाडि बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानुनी प्रावधान अनुसार अन्य जटिलता यसका कारणहरु हुन् । तर अनेकौँ प्रयासहरु निरन्तर जारी रहेका छन् । जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ । प्रतिवद्ध छ । निरन्तर रुपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रुपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतिक्षाको विषय हो । केही कानूनी जटिलता पार गर्दै राजनीतिक र कुटनीतिक सम्बन्धमार्फत जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा म पूर्ण विश्वस्त छु ।’


क्लिकमान्डु