विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यले लिए शपथ



काठमाडौ‌ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले डा धिताललाई नियमन आयोगको अध्यक्षमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

अध्यक्ष धितालको शपथ लगत्तै आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराए । डा धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन् ।

उनी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक समेत हुन् । असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरुमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो ।

ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे ।


क्लिकमान्डु