अन्त:शुल्क स्टिकरमा ३८ करोड भ्रष्टाचार, मुख्यसचिवसहित १२ जनाविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहितका १२ जनाविरुद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले अन्त:शुल्क स्टिकर खरिदमा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आइतबार मुख्य सचिव अर्याल, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेश शाक्य, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहितका १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दामा बहालवाला मुख्यसचिव विरुद्ध परेको यो पहिलो मुद्दा हो ।

अख्तियार सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिद प्रक्रियामा अनियमिता भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुख्यसचिव अर्याल

विशेष अदालतमा आइतवार दर्ता भएको अभियोगपत्रमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य पनि छन् । उनी अहिले अर्थको बजेट महाशाखा प्रमुख छन् । अभियोग लागेका अन्यमा टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मासहितलाई प्रतिवादी बनाइएको छ ।

पाण्डे भन्सार विभागका उपनिर्देशक हुन् । पौडेल सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक हुन् । शाही आन्तरिक राजस्व विभाग लाजिम्पाटका उपसचिव, सफल श्रेष्ठ राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक, रविन्द्र पौडेल आन्तरिक राजस्व विभाग लाजिम्पाटका अधिकृत, गौतम सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत, शक्ति श्रेष्ठ सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता, केशव शर्मा प्रिन्ट सेलका निर्देशक हुन् ।

अख्तियारले उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग दाबी गरेको छ ।


क्लिकमान्डु