गृहमन्त्री लामिछानेलाई शर्माको प्रश्न: ‘जीबीलाई भगाउने नियत हो ?’



गृहमन्त्री रवि लामिछानेलाई विश्वप्रकाश शर्माको प्रश्न- ‘अभियुक्त पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको के अर्थ ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राईबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।

गृहमन्त्री लामिछानेले केही दिनअघि मात्रै जीबी राई मलेसियामा रहेको पत्ता लागेको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसका महामन्त्री शर्माले भने गृहमन्त्री लामिछानेले यस्तो अभिव्यक्ति दिनुको पछाडि राईलाई भगाउने नियत रहेको आशंका गर्दै प्रश्न उठाएका छन् ।

‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’ नेता शर्माले भनेका छन् ।

गृहमन्त्री लामिछानेले भने जीबी राई मलेसिया रहेको पत्ता लागिसकेको प्रतिक्रिया दिएका थिए । तर गृहमन्त्री बनेको महिनौं भइसक्दा पनि उनले राईलाई पक्राउ गर्न तत्परता देखाएका छैनन् । जवकि गोर्खा मिडियामा राईसँग सहकार्य गरेका लामिछानेमाथि पनि सहकारी ठगी प्रकरणमा प्रश्न उठिरहेको छ ।


क्लिकमान्डु