‘ब्याड बैंक’को कानुन बनाउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) सञ्चालन गर्ने ऐनको मस्यौदा तयार भइरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गभर्नर अधिकारीले ब्याड बैंक खोल्ने ऐनको ड्राफ्ट भइरहेको बताएका हुन् ।

गभर्नर अधिकारीले सामान्य कानुन वा कम्पनी रजिस्ट्रार कम्पनीमार्फत खुलेको ब्याड बैंक प्रभावहीन नहुने पनि बताए । तसर्थ, विशिष्टिकृत कानुनमार्फत् एसेट म्यानेजमेन्ट कम्पनी खोल्नुपर्ने निष्कर्ष राष्ट्र बैंकले निकालेको हो ।

मौजुदा कानुनअनुसार ब्याड बैंक खुल्ने हो भने रियलस्टेट कम्पनी बन्ने भन्दै गभर्नर अधिकारीले विशेष क्षमताको एसेट म्यानेजमेन्ट कम्पनी बनाउने दाबी गरे । विकसित मुलुकको उदाहरण दिँदै उनले एसेट म्यानजमेन्ट मात्रै नभएर एसेट रिकन्स्ट्रक्सन कम्पनी बन्नुपर्ने बताए ।

‘संस्था बनाउन निकै मिहिनेत गर्नुपर्छ । त्यसैले ऐन बनाउँदै छौं । ब्याड बैंकलाई केके अधिकार दिने ? अधिकारसम्पन्न बनाउने कुरा हामी सचेत छौं,’ अधिकारीले भने ।


क्लिकमान्डु