आईएमईको ६६.३ मेवा मध्य कालीगण्डकीमा जुट्यो लगानी, कन्सोर्टियमको लिडर नबिल



काठमाडौं । ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सह-वित्तीयकरण (कन्सोर्टियम)का बैंकहरू र प्रबर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्टमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको आयोजनामा लगानी जुटेको हो ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैंक लिमिटेडले गरेको छ । अन्य सहभागी बैंकहरू एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आईएमई समुह र सर्वसाधारणको लगानी रहने छ ।

सह-वित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नबिलले ३ अर्ब १२ करोड, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेघाले २-२ अर्ब तथा नेपाल, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले १–१ अर्ब रूपैयाँ लगानी गर्नेछन् ।

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादन बाट २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् ।


क्लिकमान्डु