टिकटकविरुद्ध अमेरिकी ब्यापार आयोगको उजुरी



एजेन्सी। अमेरिकी संघीय ब्यापार आयोगले टिकटक र यसको चिनियाँ कम्पनी बाइट डान्सविरुद्ध बालबालिकाको सम्भावित गोपनीयता उल्लंघन गरेको भन्दै न्याय विभागमा उजुरी दिएको छ ।

ब्यापार आयोगले आफ्नै अनुसन्धानका आधारमा फर्महरुले कानुन उल्लंघन गरिरहेको वा उल्लंघन गर्ने तयारीमा रहेको जनाएको छ । टिकटकका प्रवक्ताले भने अमेरिकी ब्यापार आयोगको यस्तो निर्णयबाट आफूहरु निराश भएको प्रतिक्रिया दिएका छन् । ब्यापार आयोगको यो कदम यसै वर्षको सुरुमा टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको नयाँ कानुन भन्दा अलग विषय रहेको बताइएको छ ।

चिनियाँ कम्पनी बाइट डान्सले सेयर बिक्री नगर्ने भएपछि अमेरिकी सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउन कानुन पास गरेको छ । ब्यापार संघका अनुसार उसको अनुसन्धान ‘फेडरल ट्रेड कमिसन याक्ट’ र बालबालिकाको अनलाइन गोपनीयता संरक्षण कानुनको सम्भावित उल्लंघनमा केन्द्रित थियो ।

ब्यापार संघले प्राय यस्ता विषयमा न्याय विभागमा उजुरी दिने नगरे पनि यसपटक सार्वजनिक चासोको विषय भएकाले उजुरी दिएको जनाएको छ । टिकटकले भने अमेरिकी निकायहरु समस्या समाधानका लागि आफूसँग मिलेर काम गर्नुको सट्टामा मुद्दा हालेर बसिरहेको जनाएको छ ।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइट डान्सका लागि एप बिक्री वा प्रतिबन्धमध्ये एक विकल्प दिने दबाबपूर्ण कानुनका लागि तयार पारिएको एउटा विधेयकमा हस्ताक्षर गरेका थिए । उक्त विकल्पका लागि बाइट डान्सले अब २०२५ को सुरुतिर नै ठोस निर्णय गरिसक्नु पर्नेछ । विश्वभर अत्यधिक प्रयोग हुँदै आएको चिनियाँ कम्पनीको सामाजिक प्लेटफर्म टिकटकले अमेरिकामा भने पछिल्लो समय एकपछि अर्को दबाबको सामना गरिरहेको छ ।


क्लिकमान्डु