काठमाडौंमा भेटियो बिवाईडीको ३६० डिग्री घुम्ने र पानीमा तैरिने ‘याङवाङ यु ८’ गाडी (भिडियो)
काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी बिवाईडीको ‘याङवाङ यु ८’ गाडी काठमाडौं देखिएको छ । बिवाईडीको सोरुम नक्सालमा गाडी देखिएको हो ।
याङवाङ यु ८ हाईब्रिड गाडी हो । यो गाडी पेट्रोल तथा विद्युतीय ऊर्जा दुबैको प्रयोगबाट चल्छ । झण्डै १२०० हर्सपावरको क्षमताको इञ्जिन रहेको ‘याङवाङ यु ऐट’मा विभिन्न सुविधाहरु छन्, जसले यो गाडीलाई चर्चाको लायक बनाएको छ ।
कसले ल्यायो गाडी ?
साइमेक्स इंककी प्रबन्ध निर्देशक यामुना श्रेष्ठले यो गाडी नेपाल घुम्न आएका चिनियाँ पर्यटकले ल्याएको बताइन् । ‘हामीले ल्याएका होइनौं । चिनियाँहरु घुम्न आएका हुन् । हाम्रो सो-रुममा हुनुको उदेश्य चार्ज गर्नुपर्ला, अरु केहि गर्नुपर्ला त्यहि भएर मात्रै हो, ‘ उनले भनिन् ।
टप गियर डट कमकाअनुसार यो गाडी लक्जरी एसयुभी हो, जसमा चार वटा मोटरको प्रयोग भएको छ । प्लग इन हाइब्रिड (विद्युतीय तथा पेट्रोल दुवैबाट चल्ने) यो गाडीका हरेक चक्काका लागि फरक फरक मोटरको प्रयोग गरिएको छ । यो गाडी ट्यांक पुल र पूर्णरुपमा ब्याट्री चार्ज भएको बेला करिब १ हजार किमि (६२१ माइल)को रेन्जसम्म निरन्तर चल्न सक्छ । सुन्यदेखि ९८ किमि (६१ माइल) प्रति घण्टाको गति समात्न यो गाडीलाई ३.६ सकेन्डमात्रै लाग्छ ।
बिवाईडीले याङवाङ यु ऐटलाई पहिलो पटक सन् २०२३ को जनवरीमा सार्वजनिक गरेको थियो । चीनको गुआङझाओ अटो शोमा गाडी पहिलो पटक प्रस्तुत भएको थियो ।
कार्स न्युज चाइनाकाअनुसार यो गाडी दुई भेरियन्टमा छ, एउटा प्रिमियम एडिसन र अर्को अफ रोड मास्टर । कम्पनीले यो गाडीलाई गत वर्षको अक्टोबरमा आफ्नो स्थानीय बजार अर्थात चीनमा बिक्री गर्न सुरु गरेको थियो ।
याङवाङ यु ऐटमा सैन्य ट्यांकमा जस्तै एकै पटकमा ३६० डिग्री घुम्ने क्षमता पनि छ । गाडीको सार्वजनिक कार्यक्रममा नै यसलाई साँधुरो स्टेजमा ३६० डिग्री घुमाएर देखाइएको थियो । यो विशेषताले गर्दा साँधुरोभन्दा साँधुरो बाटोमा पनि गाडीलाई युटर्न गराउन सकिने कम्पनीले दाबी गरेको छ । गाडीमा रहेका चार वटा चक्काहरुलाई छुट्टा छुट्टै नियन्त्रण गर्न सक्ने सुविधा भएका कारण यो गाडीलाई ३६० डिग्री घुमाउन मिल्ने विशेषता रहेको छ ।
गाडीको इन्टेरियरमा नप्पा लेदर, सेपल वुड, डाइनौडियो अडियो सिस्टमसहितका स्पीकर, मसाज र थुप्रै डिस्प्लेहरु छन् । गाडीभित्र रहेको प्रमुख सेन्ट्रल स्क्रीन नै १२.८ इन्चको ओलेट रहेको छ भने बाँकी दुई स्क्रिनहरु २३.६ इन्चका रहेका छन् । गाडीको इन्टेरियर हरेक रुपमा लक्जरी महसुस गराउने किसिमको रहेको छ ।
यो गाडीमा ‘डिसस–पी इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम’ रहेको छ । यो सुविधाले गाडीको कुनै एउटा टायर पन्चर भएको खण्डमा तीन वटा चक्का पनि चल्न सक्ने सुविधा दिन्छ ।
डिजाइनदेखि यसमा भएका विशेषताहरु सम्पूर्ण लक्जरी छन् । अफरोड गर्न मिल्ने एसयुभी भएका कारण यो गाडी आकर्षक पनि छ ।
यो गाडी ५.३ मिटर लामो, २.०५ मिटर चौडाई र १.९२ मिटर अग्लो रहेको छ भने गाडीको ह्विल बेस ३.०५ मिटर लामो रहेको छ। गाडीमा फ्युल ट्यांकको क्षमता भने ७५ लिटरको रहेको छ ।
हाइब्रिड भएका कारण यो गाडीमा रहेको ब्याट्रीको कुरा गर्दा यसको क्षमता ४९.०५ किलोवाट घण्टाको ब्याट्री रहेको छ । सुपरचार्ज इन्जिन भएका कारण फास्ट चार्जिंगमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज हुन ०.३ घण्टा लाग्ने कम्पनीले जनाएको छ भने स्लो चार्जिंगमा ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । विद्युतीय उर्जाको मात्रै प्रयोग गर्ने हो भने गाडीले १८० किमिको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा रहेको विद्यूतीय मोटर १ हजार १९७ पास्कल क्षमताको रहेको छ ।
तर, बिवाईडीको याङवाङ यु ऐटलाईलाई विशेष र चर्चा योग्य बनाउने कारण भने यीनिहरु होइन । त्यो कारण हो यो गाडीमा रहेको रहेको पानीमा तैरिन सक्ने विशेषता हो ।
कम्पनीकाअनुसार यो गाडी पानीमा ३० मिनेटसम्म पानीजहाजकै जस्तो तैरिन सक्छ । जोखिमयुक्त अवस्थामा गाडीले यात्रुको सुरक्षालाई ख्याल गर्ने र पानी जहाजजस्तै पानीमा यो गाडीमा रहेको ‘इमेरजन्सी फ्लोटेसन’ विशेषताका कारण तैरिन सक्ने क्षमता यो गाडीमा रहेको छ ।
बाढीजस्तो आपतकालीन अवस्थामा यो विशेषताले काम गर्ने कम्पनीले जनाएको छ । गाडीको सिस्टमले आफैं इन्जिनलाई बन्द गर्ने, झ्यालहरु बन्द गर्ने र गाडीमा रहेको सनरुफलाई खुल्ला गरेर यात्रुको सुरक्षाका लागि ३० मिनेटको अवधिसम्म पानीमा तैरिने कम्पनीले जनाएको छ ।
पानीमा तैरिरहँदा यो गाडीले तीन किमि प्रतिघण्टाको गतिले चल्ने पनि क्षमता राख्दछ । बिवाईडीले यो विशेषतालाई आपतकालिन र अत्यावश्यक अवस्थामा काम लाग्ने सुविधाका रुपमा प्रचार गरेको छ ।
कम्पनीकाअनुसार अफ रोडका लागि बनेका गाडीहरुजस्तै यु ऐटको प्रिमियम एडिसन १ हजार मिलिमिटरसम्मको गहिराई र अफ रोड मास्टर एडिसन १ हजार ४ सय मिलिमिटरसम्मको गहिराईमा चल्न सक्छ । यो मोड चालु गर्न साथै गाडीमा रहेका सेन्सरहरुले आफ्नो वरिपरिको वातावरणको पहिचान र विश्लेषण गर्ने, पानीको गहिराई मापन गर्ने, चक्का चिप्लिने अवस्था भए नभएको मापन गर्नेलगायत गरेर विश्लेषण्ढा गर्छन् । गाडीमा रहेको गहिराईको सिमाभन्दा धेरै पानी रहेको खण्डमा गाडीमा रहेको फ्लोटिंग वा तैरिने मोड स्वचालित हुन्छ ।
तैरिने अवस्थामा जाँदा गाडीमा रहेको कम्बस्टन इन्जिन आफैं बन्द हुन्छ । एसि इन्टरनल सकुलेसनतर्फ जान्छ । गाडीको सनरुफ खुलेर आपतकालिन अवस्थामा बाहिर निस्किने सुविधा पनि यात्रुले पाउँछन् । सँगै गाडीको डिस्प्लेमा पानीको गहिराईलगायतका विवरणहरु पनि देखिने कम्पनीले जनाएको छ ।
अफरोड गर्नेहरुका लागि बिवाईडीको याङवाङ यु ऐट गाडी पर्फेक्ट गाडी रहेको धेरैले बताएका छन् ।
गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा बिक्रीका लागि ल्याइएका बिवाईडीको सबब्राण्ड याङवाङअन्तर्गत यी गाडीहरु अहिले नेपालमा भने उपलब्ध छैनन् । आधिकारित बिक्रेताले ल्याएको खण्डमा यी गाडीहरु नेपालमा पनि किन्न सकिन्छ ।
तर, यसको मूल्य भने निकै महंगो छ । यो लक्जरी एसयुभी गाडी १० लाख चिनियाँ युआन (१ लाख ४० हजार अमेरिकी डलरभन्दा धेरै) पर्न जान्छ । जुन गाडी नेपाली बजारमा आउँदा कम्तिमा पनि साढे ३ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ ।