ड्रोनमार्फत कृषि क्रान्तिको प्रयासः ड्रोन प्रयोग गर्न भारतको सवा २० अर्ब लगानी, एउटै ड्रोनको मुल्य ११ लाख



काठमाडौं । भारतले पछिल्लो समयमा कृषि क्षेत्रमा अत्याधुनिक खेती प्रणाली प्रयोगमा ल्याएको छ । भारतले ड्रोनको सहयोगमा खेतीपाती गर्न सुरु गरेको हो ।

भारतले अहिले ३ हजार ड्रोनको सहयोगमा खेतीपाती गर्न सुरु गरेको छ । सन् २०२५ मा यो ड्रोनको संख्या बढाएर ७ हजार पुर्याउने भारतको लक्ष्य छ । दक्षिणी छिमेकी मुलुक भारतमा मात्रै होइन, अहिले उत्तरी छिमेकी मुलुक चीनसहित विकसित मुलुक अमेरिका, भियतनाम, इजराइल, कोरियालगायतका मुलुकमा पनि ड्रोनको सहयोगमा खेतीपाती गर्ने क्रम सुरु भएको छ । कृषि क्रान्तिमा ड्रोनलाई सबैभन्दा नयाँ क्रान्तिकारी उपकरणको रुपमा हेर्न थालिएको छ ।

जानकारका अनुसार यो ड्रोनको सहयोगमा भारतको कृषि क्षेत्रमा थप क्रान्ति गर्ने लक्ष्य राखिएको छ । खेतीपातीको लागि पानीको मात्रा, पोषक तत्व, रसायनिक मल, सिंचाई, बिकट स्थानबाट कृषिजन्य बस्तुको ढुवानीलगायतमा भारतले ड्रोनको प्रयोग गर्न थालेको छ ।

यसले गर्दा मानवरहित हवाई साधन(यूएवी) को माग भारतमा पछिल्लो समयमा अत्याधिक मात्रामा बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ड्रोनको सहयोगमा कृषि उपजको उत्पादन अझै बढि लिन सकिन्छ ।

भारतको ड्रोन निर्माता कम्पनी दक्षा अनमण्ड सिस्टमको अनुसार सन् २०२५ को अन्त्यसम्म भारत सरकारको सहयोगमा ड्रोनको प्रयोग निक्कै ठूलो संख्या बढ्नेछ । यसको प्रयोग गरी कृषि क्षेत्रमा पानीको उपभोगलाई ७० प्रतिशतसम्म कम गर्न सकिन्छ । अर्थात बैज्ञानिक रुपमा कृषि उपजलाई सिंचाई गर्न सकिन्छ ।

भारतको कृषि क्षेत्रमा उपभोग हुँदै आएको ड्रोनको मूल्य करिब ७ लाख भारतीय रुपैयाँ (११ लाख ११ हजार नेपाली रुपैयाँ) पर्छ । ड्रोन निर्माताका अनुसार नैनो यूरिया र डाय अमोनियम फोस्फेट(डीएपी) र नैनो माटो पोषक तत्व खेतमा छड्किन भारतको प्रमुख सहकारी संस्था इफकोले २५०० ड्रोन खरिद गर्ने घोषणा गरेको थियो । यो ड्रोनलाई सञ्चालन गर्नका लागि ५ हजार स्थानीयबासिन्दालाई तालिमसमेत प्रदान गरिएको थियो ।

अन्य क्षेत्रमा पनि ड्रोनको प्रयोग बढ्ने

ड्रोन सञ्चालन गर्नका लागि ड्रोन पायलटलाई तालिम प्रदान गर्ने कम्पनी ड्रोन डिस्टिनेशनको प्रवन्ध निर्देशक चिराग शर्मा ड्रोन उद्योगको भविष्यलाई लिएर सन्तुष्टि जनाएका छन् ।

उनका अनुसार कृषिसँगै अन्य औद्योगिक क्षेत्रमा पनि ड्रोनको उपभोग १० हजारदेखि १५ हजारसम्म पुग्न सक्छ । उनका अनुसार ड्रोनको भविष्यलाई हेरेर अहिले ५ सयको संख्यामा ड्रोन पायलट उत्पादन गरिएको छ । यो कम्पनी भारतको नमो ड्रोन दिदी आयोजनाको सहयोगीसमेत छ । यो आयोजनाअन्तर्गत कम्पनीले अहिलेसम्म ६ सयभन्दा बढी स्थानीय दिदीलाई पायलटको तालिम उपलब्ध गराएको छ ।

नमो दिदी आयोजना वा ड्रोन दिदी आयोजनाको सुरुआत २०२३ को नोभेम्वरमा भएको थियो । यो आयोजनामार्फत भारत सरकार कृषिमा महिलाको हिस्सा दर बृद्धि गर्न योजना बनाएको छ । यो आयोजना अन्तर्गत भारतले १२ अर्ब ६१ करोड भारतीय रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।

यो आयोजनाअन्तर्गत भारतले १५ हजार महिला स्वयम सेवक सहायता समूह(एसएचजी) लाई ड्रोन उपलब्ध गराउने योजना छ । यो आयोजनालाई भारतको कृषि बिज्ञान केन्द्रमार्फत देशैभरी कार्यान्वयनमा ल्याइएको छ ।

भारतको १० करोड महिला स्वयम सेवक सहायता समूहमा आवद्ध छन् । यो आयोजना अन्तर्गत ड्रोन डिस्टिनेशनले अहिलेसम्म ६ सयभन्दा बढी ड्रोन दिदीलाई तालिम प्रदान गरिसकेको छ ।

कृषि बाहेक माइनिङ, सुरक्षा, शहरी योजनाको नक्सांकन, जमिन र प्रविधिको परीक्षण, जंगलमा लागेको आगलागी नियन्त्रण, बाढी र सुख्खा ग्रस्त क्षेत्रको निगरानी, पर्यावरण निगरानी, सीमा निगरानीलगायतका विभिन्न क्षेत्रमा ड्रोनको प्रयोग भइरहेको छ ।


क्लिकमान्डु