ढाका-पोखरा सातामा ४ उडान गर्ने एयर अस्ट्राको प्रस्ताव: ल्यान्डिङ, पार्किङ र भ्याट छुट दिन माग



काठमाडौं । बंगलादेशबाट पोखरामा सीधा उडान गर्न चाहेको बंगलादेशी वायुसेवा कम्पनी एयर अस्ट्राले नेपाल सरकारसँग विभिन्न सुविधा माग गरेको छ । एयर अस्ट्राले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, इन्धन, ग्राउन्ड ह्यान्डलिङसहित भ्याट छुट पनि मागेको हो ।

यो वायुसेवाले पोखरामा नयाँ विमानस्थल भएकोले यात्रुको चाप कम हुने र उडान सञ्चालन गरेर स्थापित हुन गाह्रो हुने भन्दै उक्त छुट मागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उडान अनुमतिका लागि आवेदन दिएको यो वायुसेवाले त्यसको जानकारी अर्थ मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र यसको जनरल सेल्स एजेन्ट्स कम्पनी (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई समेत दिएको छ ।

यो वायुसेवाले बंगलादेशको ढाकाबाट पोखरामा एटीआर ७२–६०० नामक ७८ सिट क्षमताको जहाजबाट उडान गर्न इच्छा देखाएको छ । यसले दिएको आवेदनमा नेपाल सरकारले आवश्यक सहजीकरण गरेको अवस्थामा सातामा ४ वटा उडान नियमति गर्ने उल्लेख छ ।

यो वायुसेवाले मागेको छुटमा भ्याटबाहेक सुविधा दिन सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । पोखरा विमानस्थल नयाँ भएको र यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई उडानमा छुट दिने व्यवस्था प्राधिकरणले नै गरिसकेको छ । प्राधिरकणले आफ्नो क्षेत्रभित्र पर्ने सुुविधालाई सरकारकै अनुमतिमा छुट दिने व्यवस्था मिलाएको छ ।

पोखरा उडान गर्न चाहने वायुसेवाले पाउने थप छुटको सुविधाको विषयमा भने अर्थ मन्त्रालयले निर्णय दिन सक्छ । पोखरा नयाँ विमानस्थल भएकोले यहाँबाट हुने उडान प्रवद्र्धन गर्न पनि उडान अवतरणमा लाग्ने शुल्क छुट गरेर भएपनि विदेशी वायुसेवा आकर्षिक गर्नुपर्ने अवस्था रहेको प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।

उनका अनुसार यो वायुसेवाले पर्यटन मन्त्रालयमा आवदेन दिएकोले मन्त्रालयबाट अनुमति पाएपछि नागरिक उड्डयन प्राधिरकरणमा औपचारिक रुपमा आवेदन दिन आउने भएको छ । प्राधिकरणमा आवदेन दिएपछि यसको माग अनुसार दिन सक्ने सेवा सुविधा र छुटको विषयमा आवश्यक निर्णय गरेर उडान अनुमति पाउन सक्नेछ ।

एयर अस्ट्राले उडान अनुमति पाए यो वायुसेवाको पहिलो अन्तर्राष्ट्रिय उडान नेपालको पोखरा हुनेछ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न हालसम्म कुनै पनि विदेशी वायुसेवाले आवदेन नदिएकोले एयर अस्ट्राले आवेदन पाए यो विमानस्थल सुरु भएपछिको पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय पनि एयर अस्ट्राकै हुने भएको छ ।

डेढ वर्ष अघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हाल ठप्प छ । यो विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ जम्मा २ वटा मात्रै चार्टर उडान भएको छ । अन्तर्राष्ट्रिय उडान नपाएका कारण संरचना तयारी अवस्था मात्रै हुँदा ऋणको दायित्व मात्रै बढिरहेको छ ।


क्लिकमान्डु