असारका लागि ब्याजदरः ११ बैंकले घटाए, ३ ले बढाए, सबैभन्दा धेरै हिमालयनले दिने



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर अझै घटाएका छन् । बैंकहरुले असार महिनाका लागि लागु हुनेगरी प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ११ वटाले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् ।

असार महिनामा सिटिजन्स, एभरेष्ट, ग्लोबल आईएमई, कुमारी र लक्ष्मी सनराइन बैंकले जेठको भन्दा कम ब्याज दिनेछन् । यसैगरी नेपाल एसबीआई, एनआईसी एशिया, एनएमबि, प्राइम, राष्ट्रिय वाणिज्य र सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् । सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले असारका लागि जेठको तुलनामा ब्याजदर घटाएको छ । बैंकले हाल दिइरहेको ७.५ बाट ब्याजदर घटाएर असारका लागि ६.५ % तोकेको छ ।

हिमालयन, माछापुच्छ्रे र नबिल बैंकले भने बढी ब्याज प्रस्ताव गरेका छन् । ब्याजदर यथावत् राख्ने वाणिज्य बैंकहरु कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक हुन् ।

असार महिनाका लागि प्रकाशित दरअनुसार सबैभन्दा बढी ब्याज हिमालयन बैंकले दिनेछ । हिमालयनले मुद्दती निक्षेपमा वार्षिक ८.२५ प्रतिशत ब्याज दिने बताएको छ । माछापुच्छ्रे, एनआईसी एशिया, एनएमबि र प्रभुले ७ प्रतिशतभन्दा बढी ब्याज दिनेछन् भने नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्डले अधिकतम ७ प्रतिशत ब्याज प्रस्ताव गरेका छन् ।

जेठमा बैंकहरुको अधिकतम औसत ब्याजदर ६.९९ प्रतिशत रहेकामा असारका लागि ६.८७ प्रतिशतमा झरेको छ ।


क्लिकमान्डु