कानुनअनुसार आए टिकटक लगायत कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैनः मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् ।

सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको उनले बताइन् ।

नियम कानुनको पालना गर्नेहरुले टिकट चलाउन नहुने उनको भनाइ छ ।
सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको शर्माले बताइन् ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् ।

सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको उनले बताइन् ।

मन्त्री शर्माले नेपालका कानुनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन् ।

टिकटक नाममा समस्या नभइ कन्टेनमँ समस्या रहेको भन्दै नेपालको नियम कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भइ स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन् ।


क्लिकमान्डु