टर्कीले ईभीपछि चिनियाँ हाइब्रिड र आइसीई सवारीमा लगायो थप ४० प्रतिशत कर



काठमाडौं । टर्कीले चिनियाँ सवारीसाधनमा ४० प्रतिशत थप कर लगाउने भएको छ ।

टर्कीको व्यापार मन्त्रालयले चीनबाट आयात हुने कारमा जुलाई ७ तारिखदेखि लागु हुने गरि थप ४० प्रतिशत कर लगाउने घोषणा गरेको हो । प्रत्येक सवारीसाधनमा न्यूनतम ७००० अमेरिकी डलर अतिरिक्त कर थप हुनेछ ।

टर्कीको व्यापार मन्त्रालयका अनुसार थपिएको कर इन्टर्नल कम्बुसन इन्जिन (आइसीई)  र हाईब्रिड गाडीमा लागु हुनेछ । कर बढाउनुको मुख्य  उदेश्य टर्कीको आन्तरिक अटो मेकरहरुको संरक्षण र चालु खाता घाटा कम गर्नका लागि हो ।

चीनले विद्युतीय सवारीसाधन (ईभी) मा गरेको क्रान्तिका कारण विश्व बजारमा निर्यातकर्ताका रुपमा बलियो उपस्थिति बनाएको छ । ईभी उत्पादकहरुलाई निर्यातका लागि बेइजिङले भारी मात्रामा अनुदान दिइरहेको छ ।

अमेरिकाले पछिल्लो महिना चिनियाँ ईभी आयातमा शतप्रतिशत कर लगाउने निर्णय गरेको थियो ।

मन्त्रालयले देशको चालु खाता घाटा घटाउने लक्ष्यलाई सम्बोधन गर्न आन्तरिक लगानी र उत्पादनलाई प्रवर्द्धन गर्ने प्रयास गरेको बताएको छ । आयातित गाडीमा ४० प्रतिशत कर लगाउनु मुलत चिनियाँ सवारीलाई देश प्रवेशमा रोक लगाउन लागिएको हो ।

सन् २०२३ मा नै टर्कीले चिनियाँ ईभीमा अतिरिक्त कर लगाइसकेको छ ।

सरकारले चालु खाता घाटा कम गर्न उत्पादन र निर्यातमा जोड दिदै आएको छ । टर्कीको चालु खाता घाटा ४५.२  बिलियन अमेरिकी डलर छ ।


क्लिकमान्डु