विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा निजीलाई दिने तयारी, भैरहवाबाट सुरु गर्ने पर्यटन मन्त्रीको संकेत



काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा निजी वायुसेवा कम्पनीलाई दिन सकिने बताएका छन।

शनिबार पर्यटन बोर्डमा अठोट नेपाल र उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगीता २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले हाल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरीरहेको र यसलाई निरन्तरता दिँदै अन्य अन्तराष्ट्रिय उडानको मान्यता पाएका निजी एयरलाईन्सहरुले पनि यो विमानस्थललाई आधार बनाएर नियमित उडान शुरु गरेमा त्यो जिम्मेवारी दिन सकिने स्पष्ट गरे ।

यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७८ को नियम ५।२ बमोजिम प्रकृया शुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिए ।

यसरी निजी एयरलाईन्सहरुलाई पनि प्रतिस्पर्धा गराएर सेवा शुरु गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सोझै अन्तराष्ट्रिय उडानहरु बृद्धि गर्न सकिने मन्त्री तामाङले विस्वास व्यक्त गरे ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानहरु जोड्दा पर्यटन क्षेत्रमा प्रवद्र्धन पुग्ने र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण र भरपर्दो क्षेत्रको रुपमा विकास गर्ने आफूहरुको सोच रहेको भन्दै सबैलाई हातेमालो गरेर अघि बढ्न मन्त्री तामाङको आग्रह छ ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरुलाई उत्साहित बनाउनु पर्ने आवश्कता रहेको भन्दै उनले अब यसमा सरकार लागि पर्ने बताए ।

विभिन्न देशका राजदुतहरुले भेटेरै नेपालमा स्वदेशी र विदेशी नागरिक एवं पर्यटकलाई हवाई भाडा देखि विभिन्न सेवा सुुविधाको मुल्य फरक फरक रहेको गुनासो गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नु पर्नेमा पनि मन्त्री तामाङले जोड दिए ।


क्लिकमान्डु