पाटाको अन्तर्राष्ट्रिय उपाध्यक्षमा एक्प्लोर हिमालयका पाण्डे निर्वाचित, पर्यटनका समस्या समाधान गर्न प्रतिवद्ध रहने



पाटाको साधारण सभामा अनलाइनमार्फत सहभागी हुँदै पाण्डे ।

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)अन्तराष्ट्रियको उपाध्यक्षमा नेपालका पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे चयन भएका छन् । एक्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर का अध्यक्षसमेत रहेका पाण्डे पाटा अन्तराष्ट्रियको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

गत मार्च महिना सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेज़ले मनोनयन फिर्ता लिएकोले पाण्डे पाटाको उपाध्यक्षमा निर्विरोध भएका हुन् । पाटाको शुक्रबार सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति अनुमोदन भएको हो ।

नेपाल सन् १९७५ देखि पाटासदस्यमा आवद्ध छ । पाटाके कार्यसमितिमा प्रखुम पदमा पुग्ने अवसर लो पटक पाण्डेले पाएका हुन् । यस अघि सं २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाण्डे पाटाको सचिव तथा कोषाध्यक्ष भएका थिए ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भएको पाटा १९९८ देखि बैङ्ककमा मुख्यालय राखेर एशिया तथा प्रशान्तको पर्यटन क्षेत्रमा काम गर्दै आएको छ ।

नेपालको पर्यटकीय सम्भावनाहरुलाई अन्तराष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटामार्फत सक्रिय भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ ।

सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना र २०१५ को महाभूकम्प पश्चात को संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रमका साथै ६ पटक भन्दा बढी शाहसिक पर्यटन मेला आयोजना गर्ने, सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट को आयोजनामा सक्रिय सहयोग गर्नेदेखि साहसिक पर्यटन बजारको आयोजना गरेर पोखराको पर्यटन प्रवर्द्धनमा पाटाले महत्वपूर्ण भूमिका खेलेको छ ।

पर्यटन व्यवसायमा आवद्ध भएको ३५ वर्षमा पाण्डेले ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत विविध विधालाइ अगाडि बढाउने काम गरिरहेका छन् ।

पाण्डे यस अघि ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष, नेपाल पर्यटन बोर्डका सदस्य, एरलाइन्स अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष भइसकेका छन् ।

विभिन्न पर्यटकीय कार्यक्रम तथा गतिविधिहरूको सञ्चालनमा सक्रिय भूमिका खेल्दै आएका पाण्डेले सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्रिपरिषद बैठकको मुख्य संयोजनकर्ता को काम गरेका थिए । पाण्डेको अगुवाइमा सन् २००८ मा नेपाल मा स्काई डाइभिङ्को शुरुवात, नेपालका उच्च हिमाली क्षेत्र मा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधि को शुरुवात र उनकै नेतृत्वमा सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्टलगायतका विभिन्न अन्तराष्ट्रिय पर्यटन मेलाको समेत शुरुवात भएको थियो।

आगामी सन् २०२६ सम्म कार्यकाल रहने पाटा अन्तराष्ट्रियको नौ सदस्यीय कार्य समितिको अध्यक्षमा इण्डोनेशियाका पिटर सिमोन, सचिवरकोषाध्यक्षमा थाइल्यान्डका एशियन ट्रैलस चयन भएका छन् ।

पर्यटनका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय विज्ञ ल्याउनमा पहल गर्छु: पाण्डे
पाटा अन्तर्राष्ट्रियको उपाध्यक्ष भएसँगै नेपालको पर्यटनका समस्या समाधानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि पर्यटनका निकायका समस्या समाधानमा विज्ञ ल्याउन पहल गर्ने पाण्डेले बताएका छन् ।

पाटाको चयन भएपनि क्लिकमाण्डुसँलाई संक्षिप्त प्रतिकृया दिँदै पाण्डेले भने ‘नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय विज्ञको खाँचो छ । त्यसका लागि सरकार र सम्बन्धित निकायले चाहेको अवस्थामा पाटाले समन्वय गरेर अन्तर्राष्ट्रिय विज्ञ ल्याउन सक्छ । त्यसको पहल मैले गर्न सक्छु ।’

नेपालको हवाई उड्यन क्षेत्रलाई युरोपेली युनियनले राखेको कालोसूचीलाई हटाउन, नेपाल एयलाइन्स तथा पर्यटन बोर्ड सुधारमा आवश्यक समन्वय गर्ने काम पाटामार्फत गराउन सकिने पाण्डेको भनाइ छ । पाटाले नेपाललाई आफ्नो निकै नजिकको सदस्यको रुपमा हेर्ने भएकोले आफ्नो उपस्थितिले थप सहयोग पुग्ने दाबी गरे ।

पाण्डेका अनुसार नेपालको पर्यटनको प्र्रवद्र्धन गर्न र पर्यटकीय क्षेत्रमा आउने समस्या समाधानमा यस अघि पनि पाटाको भूमिका उल्लेख्य रहेकोले अब थप प्रभावकारी बनाएर अगाडि बढ्न सकिने बताए ।


क्लिकमान्डु