२२ वर्ष राज गरेका मोदीलाई अब गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता, कसरी भए यति कमजोर ?



एनडीएको २९२ सिटमा भाजपा २४० सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । तर उसले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन । दोस्रो र तेस्रो स्थान बनाएका टीडीपी र जेडीयुको साथबिना मोदीले सरकार बनाउन सक्दैनन् । यसैले पनि अब सत्ता समीकरणको खेलमा सबैको नजर जेडीयुका नेता नितीशकुमार र टीडीपीका नेता चन्द्रबाबुतिर छ । जवकि, यी दुबैजना भारतीय सत्ता राजनीतिमा छिटोछिटो गठबन्धन फेरिरहने नेताका रुपमा चिनिन्छन् ।

एजेन्सी । भारतको लोकचुनावको नतिजा सार्वजनिक भइरहँदा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले अब सरकार बनाउन सक्ने सम्भावना कमजोर हुँदै गएको छ । नितीश कुमार र चन्द्रबाबु नायडुको सहारामा मात्रै भाजपाले सरकार बनाउन सक्ने अवस्था देखिएको छ ।

सरकार बनाउन कम्तीमा २७२ सिट आवश्यक पर्ने अवस्थामा भाजपाले भने २४० सिटमात्रै जितेको छ । जबकि चुनाव अगाडि उसले ४०० सिटभन्दा धेरै जित्ने जिकिर गर्दै आएको थियो । तर पछिल्लो मतपरिणाम अनुसार भाजपाले यसअघिको भन्दा पनि कमजोर नतिजा ल्याएको छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले जम्मा २९२ सिट जितेको छ भने प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितेको छ ।

इन्डिया गठबन्धनका सूत्रधार नै मानिएका जेडीयु अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नितीश कुमारले भने गत जनवरीमा नै गठबन्धन बदलेर भाजपा नेतृत्वको गठबन्धन एनडीएमा सामेल भएका थिए । भाजपासँग मिलेरै उनले बिहारमा सरकार बनाए र लोकसभा चुनावमा पनि यही गठबन्धनबाटै चुनावमा प्रतिस्पर्धा गरे ।

जेडीयुले पनि चुनावमा राम्रो नतिजा ल्याएर बिहारमा १२ सिट जित्ने लक्ष्य राखेको थियो । जुन लक्ष्य पूरा गर्दै उसले बिहारमा १२ सिट जितेको छ । र भाजपाले पनि १२ सिट नै जितेको छ । यस्तै बिहारमा एलजेपी (रामविलास) ले पाँच र जितनराम माझीको पार्टीले एक सिट जितेको छ । अर्थात् एनडीएको जम्मा ३० सिट जितेको छ । साथै एक सिट स्वतन्त्र उम्मेदवार पप्पु यादवले जितेका छन् ।

यस्तै आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको तेलगु देशम पार्टीले १६ सिट जितेको छ । जहाँ लोकसभा चुनावसँगे विधानसभाको पनि निर्वाचन भएको थियो । तेलगु देशमले १७५ सदस्यको विधानसभामा १३५ सिट जितेर बहुमत हासिल गरेको छ। र तेलगु देशम पनि एनडीएमै आबद्ध छ ।

यहाँ रोचक के छ भने नितीश कुमार र चन्द्रबाबु नायडु दुवै नेता केही समयअघि मात्रै लोकसभामा नरेन्द्र मोदी सरकारको विरुद्ध मोर्चाबन्दीमा सक्रिय थिए । यसर्थ एनडीए गठबन्धनमा यी दुवै नेताको महत्त्वपूर्ण भूमिका देखिएको छ । सरकार बनाउन मोदी र भाजपाका लागि यी दुई सहयोगीको समर्थन टिकाउनुपर्ने प्रमुख जिम्मेवारी देखिएको छ ।

नरेन्द्र मोदीका चुनौती

लोकसभाको ताजा नतिजासँगे सत्ता समीकरणमा नितीशकुमार र चन्द्रबाबु प्रमुख किङमेकरको भूमिका देखिने विश्लेषण हुन थालेको छ । ‘यो सरकार नितीशकुमार र चन्द्रबाबु नायडुको सहयोगबिना चल्न सक्दैन । र नितीशकुमार मौसम जस्तै गरी बदलिरहन्छन्,’ नयाँ समीकरणबारे वरिष्ठ पत्रकार संजीव श्रीवास्तव भन्छन्, ‘सवाल के उठ्छ भने सहयोगको बैसाखी भाजपाको घाँटीमा घन्टी बनिरहेको छ । यी दुवै पुराना खेलाडी र परिपक्व राजनेता हुन् । उनीहरु विशेष किसिमको राजनीतिक सोच राख्छन् र यो सत्ता समीकरणमा पूरा नाफा अशुलेर छोड्नेछन् । उनीहरु यो यो चाहिन्छ भनेर आफ्नो माग राख्छन् । तब मात्रै सत्तामा रहन्छन् ।

तर सामान्य राजनीतिक सन्दर्भमा भन्ने हो भने तेस्रो पटक सरकार बनाउनका लागि झण्डै २४० सिट जित्नु कुनै खराब नतिजा भने हैन । तर मोदीले आफ्नो लक्ष्य यति फराकिलो बनाएका थिए कि, भाजपाले ४०० सिटभन्दा धेरै जित्नेछ भनेर नारा नै बनाइएको थियो । यस्तो परिस्थितिमा भाजपा दाबी गरेभन्दा झण्डै आधा सिटमा सीमित हुनुपर्दा कंग्रेससहितको गठबन्धनले हारेर पनि जितेको जस्तो महसुस गर्न पुगेको पत्रकार संजीव श्रीवास्तव बताउँछन् ।

उनका अनुसार,यो चुनावी नतिजाको प्रमुख सन्देश यो पनि हो कि प्रधानमन्त्री मोदी एनडीएका सबै घटक दलहरुलाई साथमा लिएर अगाडि बढ्नुपर्ने छ । श्रीवास्तव भन्छन्, ‘यो चुनावी नतिजाको महत्त्वपूर्ण कुरा के भने तपाइँ जनता र पूरा तन्त्रलाई हल्का रुपमा लिनुहुन्छ र आफ्नै तरिकामा चलाउन खोज्नुहुन्छ भने त्यो जनतालाई मन पर्दैन ।’

सत्ताको केन्द्रीयता चलाउन असम्भव

स्मरणीय के छ भने मोदीको १० वर्षको कार्यकालमा कुनै दलको संलग्नता थिएन । अर्थात भाजपाको एकलौटी सरकार नै थियो । अब सत्तामा अन्य दलले पनि भाग खोज्ने नै छन् । यस्तो परिस्थितिमा भाजपा सरकारले जनताको आवाजलाई बेवास्ता गर्थ्यो । र अन्य दलहरुलाई पेलेरै अगाडि बढ्थ्यो । अब भने गठबन्धनका सर्तहरु पालना गरेको अवस्थामा र जनताको आवाज सुनेको खण्डमा मात्रै सरकार टिक्न सक्छ । अन्यथा मुस्किल पर्नेछ ।

कतिपयले भने अब सरकारले अटल बिहारी बाजपेयीको सरकार चलाउने मोडल अपनाउनुपर्ने सुझाव पनि दिन थालेका छन् । अफसोस, मोदी बाजपेयी मोडेलबारे अनुभवी छैनन् । २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री बनेका मोदीले एकछत्र राज गरे । अब अचानक तालमेल र सहमतिको राजनीति गर्नु उनका लागि प्रमुख चुनौती हुने विशेलेषकहरु बताउँछन् । अब उनी नयाँ भूमिकालाई कसरी सन्तुलित गर्छन् त्यसैमा उनको सरकारको आयु निर्भर हुने पनि विश्लेषकहरुको तर्क छ ।

भारतमा अटल बिहारी बाजपेयीको सरकार १९९९ मा बन्दा गठबन्धनमा २४ दल सामेल थिए । र त्यो सरकार पाँच वर्षसम्म चलेको थियो । राजनीतिक विश्लेषकहरुको के भनाइ छ भने गठबन्धनमा तालमेल मिलाउन सक्ने बाजपेयीको कुशलताले नै सरकार पाँच वर्षसम्म चलाउन सम्भव भएको थियो ।

विपक्षी नेताहरुको संकेत

मंगलबार चुनावी नतिजाको रुझानले के देखायो भने भाजपाले आफ्नो एकल हैसियतमा बहुमत पाउने सम्भावना सकिँदै गर्दा प्रतिपक्ष दलहरुको इन्डिया गठबन्धन र एनडीए घटक दलहरुका लागि सरकार बनाउने नयाँ ढोका खुलेको छ ।

केही मिडिया रिपोर्टका अनुसार इन्डिया गठबन्धनका प्रमुख घटक शरद पावरले नितीश कुमार र चन्द्रबाबु नायडुसँग वार्ता गरेका छन् । जवकि उनीहरुले यसबारे खण्डन गरेका छन् । बुधबार भने दिल्लीमा गठबन्धनको बैठक छ । तर केही नेताहरुको प्रतिक्रियाले के संकेत देखाएको छ भने, आगामी दिनमा सत्ता समीकरण बदलिन पनि सक्नेछ ।

कंग्रेसका वरिष्ठ नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा चन्द्रबाबु नायडुलाई २०१४ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको प्रतिबद्धता याद दिलाएका थिए । जसमा मनमोहन सिंहले आन्ध्र प्रदेशलाई पाँच वर्षका लागि विशेष राज्यको अधिकार दिने बताएका थिए ।

यसपछि चन्द्रबाबुको एक पुरानो अन्तर्वार्ता ट्वीट गरे । जहाँ चन्द्रबाबुले भनेका थिए,’सबै नेता नरेन्द्र मोदीभन्दा राम्रा छन् ।’ यसअघि चन्द्रबाबुले आन्ध्र प्रदेशलाई विशेष राज्य नमिल्दा उनले साझेदारी बदलिदिएका थिए । त्यसबेला नै चन्द्रबाबुले आन्ध्र प्रदेशलाई विशेष राज्य बनाउन इन्कार भएको भन्दै भाजपासँगको सहकार्य छोडेर कांग्रेसलाई साथ दिएका थिए ।

के सरकार बनाउने प्रतिस्पर्धामा कांग्रेस पनि छ ?

मंगलबार साँझ कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा सरकार बनाउने विषयलाई लिएर सोधिएको प्रश्नमा कंग्रेस नेता राहुल गान्धी र कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले बुधबारको गठबन्धन बैठकमा यो कुरा फैसला हुने बताएका थिए ।

तर राजनीतिक विश्लेषकहरु के भन्छन् भने जयराम रमेशको ट्वीटले एक राजनीतिक सन्देश दिएको छ । कतिपय नेताहरुले भने नितीश कुमारको प्रशंसा गर्दै उनलाई प्रधानमन्त्रीको रुपमा मान्न सकिने पनि संकेत गरेका छन् । यस क्रममा नितीशकुमार देशलाई राम्ररी बुझ्न सक्ने नेता भएको र आफ्नो लोकतान्त्रिक आस्थाको इज्जत गर्ने नेताको रुपमा उनीहरुले नितीशकुमारको प्रशंसा गरिरहेका छन् । मंगलबारको पत्रकार सम्मेलनमा त नितीश कुमार फरक गठबन्धनमा रहे पनि उनलाई प्रधानमन्त्रीको रुपमा जनताले देख्न चाहेको भन्दै कांग्रेस नेताहरुले प्रशंसा गरेका थिए ।

तर इन्डिया गठबन्धनका अन्य दुई घटक दलहरु आरजेडी र आम आदमी पार्टीको प्रतिक्रियाले पनि एउटा तरंग ल्याएको छ । आरजेडीका नेता मनोज झाले भनेका छन्,- ‘भाजपा बहुमतबाट टाढा छ । तर चन्द्रबाबुको पार्टी र जेडीयुलाई अलग गरियो भने बहुमत पनि हुँदैन । के कुरा पक्का भयो भने ४०० सिटको बेलुन फुटेरै छोड्यो ।’

हाल सत्तारुढ एनडीए गठबन्धनको साथमा २९२ सिटको नतिजा छ । जुन २७२ को बहुमत सिट संख्याभन्दा धेरै हो । जुन जेडीयुको १२ सिट र टीडीपीको १६ सिट मिलाएर २८ सिट हुन्छ । जवकि यी दुई पार्टीबिना एनडीएको आंकडा २६४ सिटमा सीमित हुन्छ । जुन बहुमत सिटभन्दा ८ सिट कम हो ।

अर्को तर्फ इन्डिया गठबन्धनको साथमा २३२ सिटको आसपास सिट छ । जसमा क्ग्रेसको ९९, समाजवादी पार्टीको ३७, तृणमुल कांग्रेसको २९, डीएमकेको २१ र एक स्थानमा अगाडि, सिवसेना युबीटी ९, एनपीसी शरद पावरको ७, आरजेडीको ४, सीपीएम ४, आप ३, जेएमएमको ३, सीपीआई एमएल २ र अन्य साना पार्टीहरु छन् ।

एनडीएको २९२ सिटमा भाजपा २४० सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि टीडीपी र जेडीयु दोस्रो र तेस्रोमा छन्। यसैले पनि अहिले सत्ता समीकरणको खेलमा सबैको नजर नितीशकुमार र चन्द्रबाबुतिर छ । र दुबै नेताहरु समयसमयमा गठबन्धन फेरिरहने नेताको रुपमा चिनिन्छन् ।


क्लिकमान्डु