लोकसभा चुनावको नतिजाबारे मोदीको पहिलो प्रतिक्रिया, ‘ऐतिहासिक उपलब्धि’



एजेन्सी । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) गठबन्धनलाई अनुमोदन गरेकोमा मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

परिणाम सार्वजनिक भइरहँदा मंगलबार साँझ प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “जनताहरुले लगातार तेस्रो पटक एनडीएलाई विश्वास गरेका छन् । यो भारतको इतिहासमा ऐतिहासिक उपलब्धि हो ।” यस्तै मोदीले जनताको आकांक्षा पूरा गर्न विगत एक दशकमा भएका राम्रा कामलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

“म जनता जनार्दनलाई यो मायाको लागि नमन गर्दछु र जनताको आकांक्षा पूरा गर्न हामीले विगत एक दशकमा गरेका राम्रा कामहरूलाई निरन्तरता दिनेछु,” मोदीले एक्समा पोस्ट गरेका छन् । यस्तै उनले आफ्ना कार्यकर्ताहरुलाई कडा परिश्रमका लागि सलाम गर्ने पनि उल्लेख गरेका छन् ।

भारतको लोकसभा निर्वाचनमा एक्जिट पोलले सत्तारुढ दल भाजपा नेतृत्वको गठबन्धन एनडीएले फराकिलो जित हासिल गर्ने दाबी गरे पनि भाजपाको एकल बहुमत आउने अवस्था देखिएको छैन । अहिले जारी मतपरिणाम अनुसार भाजपालाई भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले धेरै ठाउँमा टक्कर दिइरहेको छ ।

यससँगै मोदी र भाजपाको लोकप्रिया खस्कँदो अवस्थामा रहेको पनि देखिएको छ । ४०० सिट कटाउने अभियानमा लागेको भाजपा गठबन्धनलाई ४ सय सिट पुर्‍याउन पनि मुस्किल देखिएको छ ।

यद्यपि धेरै ठाउँमा एनडीए नै अगाडि देखिएको छ । यसले आगामी सरकार पनि भाजपा नेतृत्वमै बन्ने संकेत देखिएको छ । भारतको संसदमा सरकार बनाउनका लागि २७२ सिट आवश्यक पर्छ ।

२०१९ को चुनावमा भने भाजपाले ३०३ सिट जितेको थियो । २०१४ मा भने २८२ सिट जितेको थियो । यसपटकको मतपरिणाम अनुसार हालसम्म एनडीएले २९२ सिटमा अग्रता कायम गरेको छ । इन्डिया गठबन्धनले भने २३३ स्थानमा अग्रता कायम गरेको छ ।


क्लिकमान्डु