४०० सिटको मोदी महत्त्वाकांक्षामा धक्का, एकल बहुमत पनि नपुग्ने, तेस्रो पटक प्रधानमन्त्री बन्लान् ?



काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको गणना जारी रहँदा भारतीय जनता पार्टीले बहुमत ल्याउने सम्भावना न्यून देखिएको छ ।

लोकसभाको ५४३ सदस्यको चुनावका लागि १९ अप्रिल र १ जुनका बीच करोडौं भारतीयले मतदान गरेका गरेका थिए जसको मतगणना मंगलबार जारी रहँदा भाजपाले सन् २०१९ को भन्दा कमजोर प्रदर्शन गरेको हो ।

केन्द्रमा सरकार बनाउनका लागि बीजेपीको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन(एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा इन्डियन नेशनल डेभलपमेन्ट इक्लुसिव एलाइन्स (आईएनडीआईए) गठबन्धनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

एनडीए गठबन्धनले २९५ स्थानमा अग्रता बनाउँदा इन्डिया गठबन्धनले २३१ सीटमा अग्रता बनाएको छ भने अन्य दलले १७ स्थानमा अग्रता लिएका छन्।

भारतीय निर्वाचन आयोगका अनुसार अपराह्न ४ बजेसम्ममा भारतीय जनता पार्टीले ३ स्थानमा जीत हात पार्दा २३९ स्थानमा अग्रता बनाएको छ भने भारतीय राष्ट्रिय कंग्रेसले २ सीटमा जित हातपार्दा ९८ स्थानमा अग्रता बनाएको छ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनमा जनता दल युनाइटेड,शिव सेना, तेलेगु देशम पार्टी, लोक जनशक्ति पार्टी लगायत छन्।

कंग्रेसको नेतृत्वमा रहेको आईएनडीआईएमा समाजवादी पार्टी, सीपीआई मार्कसिस्ट, आम आदमी पार्टी लगायत रहेका छन्।

गत दुई निर्वाचनमा एक्लै बहुमत ल्याएको भाजपा यसपटक एक्लै बहुमत ल्याउने अवस्थामा देखिएको छैन । बहुमतका लागि २७२ सिट आवश्यक पर्ने भए पनि भाजपाले अहिलेको मत गणनाको रुझान हेर्ने हो भने एकल बहुमत पाउने अवस्था देखिएको छैन । भाजपाले २४०-२४५ सिट जित्ने पछिल्लो मतगणना नतिजाले देखाएको छ ।

अबको विकल्प गठबन्धन

५/५ वर्ष गरेर १० वर्ष भारतमा प्रधानमन्त्री बनेका मोदी यसपट दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री बन्ने तयारीमा थिए । त्यसका लागि भाजपाले सक्दो मिहेनत पनि गरेको थियो ।

भाजपा एक्लैले यसपटकको ३७० सीट अनि गठबन्धन साझेदारहरूसँग मिलेर ४०० सीट कटाउने महत्त्वाकांक्षा बोकेको थियो । मतदानपछिका एक्जिट पोलहरुमा पनि भाजपाले ४ सय भन्दा बढी सिट गठबन्धनसँग मिलेर बनाउने देखिएको उल्लेख थियो । तर मतपरिणाम भने त्यस अनुसार आउन नसक्ने देखिएको छ ।

सन् २०१९ को चुनावमा भाजपाले ३०३ सीट जितेको थियो । त्यसभन्दा पनि यसपटक भाजपा कमजोर बनेको छ ।

यसअघि गठबन्धन भए पनि भाजपाको एकल सरकार बन्ने सिट थियो । तर यसपटक भने गठबन्धन नबनाइ भाजपाले सरकार बनाउन नसक्ने अवस्था देखिएको छ ।

कंग्रेसका नेता कार्यकर्ता भने मतपरिणाबाट उत्साही भएका छन् । उनीहरुले अबको सरकार कंग्रेस नेतृत्वको गठबन्धनले बनाउने दाबी गरिरहेका छन् । भाजपा नेतृत्वमा रहेका गठबन्धनका दललाई आफूतिर ल्याएर कंग्रेसले सरकार बनाउने उनीहरुको दाबी छ ।

तर भाजपाका नेताहरुले भने फेरि पनि मोदीको नेतृत्वमा सरकार बन्ने बताइरहेका छन् । मोदीले तेस्रो पटक सरकार बनाउन सीबी नाइडू र नीतिश कुमारको भर पर्नुपर्ने देखिएको छ ।


क्लिकमान्डु