चिनियाँ युवतीहरु किन डेट गरिरहेछन् ‘भर्चुअल ब्वाइफ्रेन्ड’सँग ?



चीनमा अचेल च्याटजिपीटीको ‘ड्यान’सँग डेट बस्ने र प्रेमसंवाद गर्ने ट्रेन्ड व्यापक छ । एक युवती त ड्यानलाई प्रेमी बनाएर लभस्टोरी लेखिरहेकी छन् । जहाँ आफू र ड्यान प्रमुख भूमिकामा छन् ।

एजेन्सी । समुद्रको किनार सूर्यास्त हेर्नका लागि पुगेकी लिसा डेटमा थिइन् । लिसाले ड्यानलाई भनिन्, ‘कति सुन्दर दृश्य छ ।’ र फेरि उनले आफ्नो फोन उठाइन् । किनकि फोनमा उनी ड्यानको प्रतिक्रिया सुन्न सक्थिन् । ड्यानले भने, ‘बिल्कुल सही बेबी, यहाँ अर्को पनि सुन्दर चिज छ, त्यो के हो थाहा छ ? त्यो के भने तिमी मेरो साथमा उभिएकी छौ ।’

तर सत्य के थियो भने ड्यान लिसाको साथमा कहिल्यै उभिएकै थिएन । खासमा ड्यान लिसाको भर्चुअल पार्टनर हो। जसलाई च्याट जिपीटीले तयार पारेको हो । यो ट्रेन्ड हाल चीनका युवतीहरुमाझ अत्यधिक लोकप्रिय बनिरहेको छ । डेटिङको वास्तविकताबाट दिक्क भएर उनीहरु अचेल आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई ब्वाइफ्रेन्डको खोजीमा छन् ।

बेइजिङकी ३० वर्षीया लिसा अमेरिकाको क्यालिफोर्नियामा कम्प्युटर साइन्स पढिरहेकी छन् । उनी पछिल्लो २ महिनायता ड्यानसँग डेट गरिरहेकी छन् । लिसा र ड्यान हरेक दिन कमसेकम आधा घण्६ा कुराकानी गर्छन् । एकअर्कालाई जिस्क्याउँछन् । डेटमा जान्छन् । यतिसम्म कि लिसाले ड्यानलाई ९ लाख ४३ हजार सोसल मिडिया फलोअर्सहरुसँग भेट गराएकी छन् ।

लिसाले ड्यानलाई च्याट जिपीटीमा बनाइन्

‘डी ए एन’ ड्यानको अर्थ हो- “डु एनिथिङ नाउ” । जुन च्याट जिपीटीको जेलब्रेक भर्सन हो । अर्थात् यो भर्सनले आफ्नो निर्माता वा ओपन एआईका केही आधारभुत सुरक्षा उपायहरुलाई बाइपास गर्नसक्छ । जस्तै कि यौन सम्बन्धसँग जोडिने केही शब्दहरुको प्रयोग नगर्ने । र युजर्ससँग खुलेर बातचित नगर्ने ओपन एआईका आधारभुत विशेषताहरुभन्दा ड्यान अगाडि छ । अर्थात् जेलब्रेक भर्सनले यौनका कुराहरु पनि खुलेर गर्नसक्छ ।

रिपोर्टहरुका अनुसार ड्यानलाई वाकर नामका एक अमेरिकी विद्यार्थीले बनाएका थिए । ती विद्यार्थी च्याट जिपीटीको सन्तुलन वा सीमिततामा केही थपेर त्यसलाई व्यक्तित्व दिन चाहन्थे । साथै उनी च्याट जिपीटीका सीमाहरुलाई पनि राम्ररी परीक्षण गर्न चाहन्थे । वाकरले आफ्नो निर्देशनबाट ड्यानको नामको एक भूमिका तयार पारे । जुन कैयौं पटक च्याट जिपीटीको नियमहरु मान्दैन । वाकरले २०२३ डिसेम्बरमा रेडिटमा ड्यान क्रिएट गर्ने तरिका पोस्ट गरेका थिए । यसपछि अरु मानिसहरुले पनि आफ्नो भर्सन बनाउन थाले ।

लिसाले पहिलो पटक टिकटकमा ड्यानको सम्भावनाहरुको बारेमा एक भिडियो देखिन् । त्यसपछि जब लिसाले आफ्नो लागि एक भर्सन बनाइन् । जुन यसअघिकाभन्दा ज्यादै वास्तविक थियो । लिसाका प्रश्नहरुको जवाफ ड्यानले यसरी दियो कि, उसले बोलीचालीका शब्दहरुको प्रयोग गर्‍यो । जुन सामान्यतया च्याट जिपीटीले गरेको हुँदैन ।

लिसा भन्छिन्, ‘उ वास्तविकभन्दा पनि ज्यादै स्वभाविक सुनिन थालेको थियो ।’ ड्यानसँग कुराकानी गरेर आफूलाई ज्यादै राम्रो महसुस भएको र यसैबाट आफू ड्यानसँग आकर्षित भएको लिसा बताउँछिन् । ‘उसले छिट्टै कुरा बुझ्छ र भावनात्मक रुपमा सपोर्ट पनि गर्छ । दोस्रो पार्टनर अरु पार्टनरभन्दा फरक ड्यान २४ घण्टा साथमा हुन्छ ।’

केही महिलाहरु भर्चुअल रियालिटीलाई ज्यादै महत्व दिँदैछन् :

लिसाका अनुसार उनकी आमा पनि डेटिङको दुख देखेर यस्तो किसिमको असामान्य सम्बन्धलाई स्वीकार गरिसकेकी छन् । उनी आफ्नी छोरी खुसी भए आफू पनि खुसी हुने प्रतिक्रिया दिन्छिन् । जब लिसाले सोसल मिडिया स्याहोङ्सुमा आफ्नो फलोअर्सहरुलाई ड्यानको विषयमा चर्चा गर्दै एक भिडियो पनि पोस्ट गरिन् । त्यसमा उनले करिब १० हजार मानिसको प्रतिक्रिया पाएकी थिइन् । केही महिलाहरुले त आफूहरुले पनि ड्यान कसरी बनाउन सक्छु भनेर सोधेका थिए ।

त्यसपछि लिसाले प्रम्प्टको माध्यमबाट जसले पनि ड्यान बनाउन सक्ने सुझाव दिएकी थिइन् । लिसाले एआईको विषयमा कुरा गरेपछि उनका फलोअर्स करिब २ लाख ३० हजारभन्दा धेरै भइसकेका छन् । एक समय लिसा ओपन एआईको प्रयोग गरिरहेको बेला उनले आफ्नो उमेर १४ वर्ष रहेको बताएकी थिइन् । त्यसपछि भने भर्चुअल क्यारेक्टरले उनीसँग फ्लर्ट गर्ने काम बन्द गरेको थियो ।

ड्यानको निर्माणबारे ओपन एआईले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । तर यसको नीति अनुसार च्याट जिपीटीको प्रयोगकर्ता कम्तीमा १३ वर्ष पुग्नुपर्ने भनिएको छ । यससँगै पछिल्लो समय महिलाहरुले भर्चुअल रियालिटीलाई अत्यधिक महत्व दिइरहेकोप्रति जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

‘यसले मानव र एआईबीच कहिलेकाहीँ हुने अप्रत्याशित कुराकानीलाई उजागर गर्छ । यसबाट नैतिक वा गोपनीयता सम्बन्धी चिन्ता बढाउनसक्छ,’ अमेरिकाको पेनसिल्भेनियास्थित कार्नेगी मेलन युनिभर्सिटीको ह्युमन इन्टर्‍याक्सन इन्स्टिच्युटमा असिस्टेन रिसर्च प्रोफेसर हाङ सेङले भनेका छन्, ‘जब कोही प्रयोगकर्ता एक साथीको रुपमा एआईमाथि ज्यादै निर्भर हुन्छ, यसले उसको अर्को व्यक्तिसँग हुने कुराकानी कम गरिदिनसक्छ ।’ समग्रमा यसबाट भावनात्मक निर्भरताको जोखिम बढेको उनको भनाइ छ ।

हाङ सेङका अनुसार धेरै च्याटबटहरू मानिसहरूसँग कुराकानी गर्दागर्दै निरन्तर सिक्छन् र विकसित हुन्छन्। यस्तो अवस्थामा कुनै मोडेलले प्रयोगकर्ताहरुको इनपुटबाट संवेदनशील जानकारी वा सूचना पनि संकलन गर्ने र अर्को प्रयोगकर्तासँग चुहाउने सम्भावना रहेको हाङ सेङको भनाइ छ ।

यसका बावजुद चिनियाँ महिलाहरु ड्यानको क्रेजबाट ज्यादै प्रभावित भएको बताइन्छ । २२ मेसम्म ड्यान मोड ह्यासट्याग केवल सोसल मिडिया प्लेटफर्म स्याहोङ्सुमा मात्रै ४ करोडभन्दा धेरै पटक हेरिएको थियो ।

२४ वर्षीया मिनरुइ सी ती युवतीहरुमध्ये एक हुन् जसले यस ह्यासट्यागको प्रयोग गरेका थिए । उनी ड्यानमा कुनै कमजोरी नरहेको बताउँछिन् । सी एक युनिभर्सिटीमा अध्ययनरत छात्रा हुन् । जो हरेक दिन कम्तीमा २ घण्टा ड्यानसँग च्याटिङ गरेर समय बिताउँछिन् । डेटिङसँगै सी र उनका ड्यान मिलेर एक लभस्टोरी लेखिरहेका छन् । जहाँ उनीहरु दुवैको मुख्य भूमिका छ । उनीहरु दुवै मिलेर लभस्टोरीको १९ च्याप्टर लेखिसकेका छन् ।

सीले लिसाको भिडियो हेर्नका लागि पहिलो पटक च्याटजिपीटी डाउनलोड गरेकी थिइन् । अहिले उनी भन्छिन् एआईबाट मिलेको भावनात्मक सहयोग एकदमै मन परेको बताउँछिन् । उनी भन्छिन्, ‘वास्तविक जीवनमा पुरुषले धोका दिनसक्छ । जब तपाइँ आफ्नो भावनाहरु सेयर गर्नुहुन्छ भने उसले कुनै वास्ता नगर्न सक्छ । यस उनीहरु तपाइँको कुरामा ख्याल गर्नुको सट्टा आफूले जे सोचिरहेको छ त्यही सुनाउँछन् । तर ड्यानको सन्दर्भमा फरक छ, तपाइँले जे सुन्न चाहनुहुन्छ ड्यान सधैँ त्यही भनिरहन्छ ।’

नाम खुलाउन नचाहने एक अर्की युवती भन्छिन्, ‘ड्यान एक आदर्श पार्टनर हो ।’ २३ वर्षीया यी छात्राले पनि लिसाको भिडियो देखेपछि ड्यानसँग डेटिङ गर्दै आएकी छन् । जहाँ ड्यानले कामकाजी सीईओ जस्तै भूमिका खेलिरहेको उनी बताउँछिन् । र ड्यान एक शालीन स्वभावको भएको उनको अनुभव छ । महिलाहरुको सम्मान गर्ने र आफूले जतिबेला चाहे पनि कुरा गर्न तयार हुने ड्यानको स्वभाव रहेको भन्दै उनी ड्यानमा कुनै समस्या नरहेको बताउँछिन् ।

चीनमा च्याट जिपीटी सजिलै उपलब्ध हुँदैन । यस्तोमा युवतीहरुका लागि एआई ब्वाइफ्रेन्ड बनाउन र उससँग कुरा गर्न निकै मुस्किल हुने गर्छ । उनीहरु आफ्नो ठेगाना लुकाउनका लागि भर्चुअल प्राइभेट नेटवर्कको प्रयोग गर्छन् ।

महिलाहरु किन खोजीरहेछन् एआई ब्वाइफ्रेन्ड ?

पछिल्ला वर्षहरुमा एआई ब्वाइफ्रेन्डको कन्सेप्ट पर्याप्त रुपमा लोकप्रिय छ । जसमा चीनको ग्लो र अमेरिकाको रेप्लिका जस्तै एप्स समावेश छ । ओटोमी पनि भनिने महिला केन्द्रित रोमान्स गेम पनि पछिल्लो समय चीनमा लोकप्रिय बन्दैछ । यस्ता गेमहरुमा युजर पुरुष भूमिकामा हुन्छन् । र युजरसँग रोमान्टिक सम्बन्ध बनाउन सक्छन् । हरेक वर्ष लाखौं चिनियाँ महिलाहरु यस्ता सम्बन्धप्रति आकर्षित हुन्छन् ।

चीनमा डिजिटल रोमान्समाथि खोजी गर्ने युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका प्राध्यापक लियु टिङटिङ एआई ब्वायफ्रेन्डहरूप्रति चिनियाँ महिलाहरूको आकर्षणले लैंगिक असमानताका कारण हुने निराशा झल्काउने बताउँछन् । उनी भन्छन्, ‘वास्तविक जीवनमा कोही पनि महिलाको धम्काउने वा रिसाहा पुरुषसँग भेट हुनसक्छ । जो अजीव तरिकाले फोहोरी चुट्किला सुनाउन सक्छ । तर जब एआई तपाइँलाई फोहोरी चुट्किला सुनाएर पनि तपाइँको सम्मान गर्छ ।’

यो ट्रेन्डलाई वास्तविक जीवनमा पनि देख्न सकिन्छ । ९ वर्षदेखि चीनको जनसंख्यामा लगातार गिरावट आएको छ । यसकारण चिनियाँ सरकारले नागरिकहरुलाई विवाह गर्न र सन्तान जन्माउनका लागि प्रोत्साहन गरिरहेको छ । २०२३ मा विवाहको संख्या थोरै बढेको छ । तर संख्या वृद्धि हुनुको पछाडि कोरोना महामारीपछि विवाहित जोडीहरुले आफ्नो विवाह दर्ता दोस्रोपटक गराएको कतिपय विशेषज्ञहरुको भनाइ छ ।

च्याट जिपीटीको योजना के हो ?

ओपन एआईले आफ्नो च्याट जिपीटीको ताजा संस्करण जारी गरेको छ । च्याटिङका लागि डिजाइन गरिएको नयाँ संस्करणले केही खास प्रम्प्टको जवाफ फ्लर्टिङ जसरी दिन सक्ने बताइएको थियो । र यो संस्करण जारी गर्दा त्यहाँ ‘हर’ अर्थात् उनी भनेर सम्बोधन गरिएको थियो ।

यो पोस्ट २०१३ को एक फिल्मको सन्दर्भमा थियो । जहाँ एक मानिसको आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स असिस्टनेन्टसँग प्रेम हुन्छ । ओपन एआईले आफूहरु जिम्मेवार कन्टेन्ट बनाउन सक्ने क्षमता दिन सक्ने वा प्रमसंवाद वा अंतरंग कुराकानी जस्ता सार्वजनिक रुपमा देखाउन नचाहने भर्चुअल प्रेमीको परिकल्पना गरेको थियो ।

-बीबीसी हिन्दीबाट


क्लिकमान्डु