१०६ मेगावाटको जगदुल्ला निर्माणका लागि ठेक्का निकालियो, अर्को वर्षबाट निर्माणमा जाने



काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्‍वान भएको छ ।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का  निकालेको हो । ६० दिनसम्म इच्छुक कम्पनीले यो ठेक्कामा आवेदन दिन पाउनेछन् ।

कम्पनीले फाइनान्सियल क्लोजर गरे लगत्तै ठेक्का  निकालेको हो। ‘ठेक्का निकालेका छौं । अहिले पहुँचमार्गलगायतका कामहरु अन्तिम चरणमा चलिरहेको छ, ‘ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाले भने,’अर्को वर्षबाट पूर्ण निर्माणमा जाने तयारी छ । समयमा सक्न प्रतिवद्ध छौं ।’

जेठ पहिलो साता यो आयोजनाको फाइनान्सियल क्लोजर भएको छ । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् ।  यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो बैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।

आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भईरहेको छ । ९ वटा बेलिवृज गर्नुपर्छ । जसको काम सुरु भईसकेको कम्पनीले जनाएको छ । धेरै जसो पूर्व तयारीका कामहरु अन्तिम चरणमा रहेको बताइएको छ ।

 इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का निकाल्न लागिएको हो । यस्तो मोडलमा ठेक्का निकाल्दा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ । आयोजनाको विस्तृत डिजाइन, खरिददेखि निर्माण, सञ्चालनसम्मको काम कम्पनीले गर्नुपर्छ ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य  छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।


क्लिकमान्डु