होटेलमा विलासी कर र हवाई भाडाको भ्याट यथावत्, नेपाल गन्तव्य थप महँगो हुने



काठमाडौं। सरकारले होटेलमा लगाएको विलासी कर र हवाई भाडामा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत निरन्तरता दिएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा होटेलमा २ प्रतिशत विलासिता कर र हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएको छ । सरकारले मंगलवार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमार्फत ति दुवै करलाई निरन्तरता दिएको छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने नारा बोकेको वर्तमान सरकारको यो नीतिले गर्दा भारतसहित तेश्रो मुलुकबाट भित्रिने पर्यटकले आगामी आर्थिक बर्षमा पनि महँगीको भार सहनु पर्ने भएको छ ।

सरकारको यो नीतिप्रति सरोकारवाला व्यवसायीले ध्यानाकर्षण भएको बताएका छन् । होटेल एसोसिएसन नेपाल (हान) ले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा धारणा सार्वजनिक गर्दै कर र भ्याटको निरन्तरताप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

‘कर र भ्याटले नेपाल गन्तव्य झन् महँगो हुने भई पर्यटक आगमनमा कमी आउने भएकाले चालू आवमा पनि यो नीतिलाई सच्याउन भनिएको थियो,’ हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त कर हटाउने सरकारको आश्वासन थियो । तर त्यसलाई निरन्तरता दिइएकोमा हानको ध्यानाकर्षण भएको छ ।’

हानका महासचिव साजन शाक्यले सरकारले कर नीतिलाई निरन्तरता दिँदा पर्यटकका लागि नेपाल महँगो गन्तव्य भइरहेको बताए । भ्याट र कर बढ्दा नेपालमा पर्यटक आउन निरुत्साहित हुने उनको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) ले पनि विगतदेखि नै हवाई टिकटमा लगाएको भ्याटको विरोध गर्दै आएको छ ।

हानले पर्यटन दशक (२०२३–२०३२) को विषयमा बजेटमा केही उल्लेख नभएको र सन् २०२५ मा मनाउने भनिएको पर्यटन वर्ष तथा दुईओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विषयलाई समेत बजेटले सम्बोधन नगरेको टिप्पणी गरेको छ ।

यद्यपि हानले आगामी आवको बजेटले निर्धारण गरेको विकासका पाँच रूपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक लाभ दिन सक्ने क्षेत्रको रूपमा पर्यटन क्षेत्रलाई पहिचान गर्नेलगायत विषय सकरात्मक भएको उल्लेख गरेको छ ।

सातओटै प्रदेश समेटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने, भारत र चीनसँगको क्रस बोर्डर पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सीधा बस सेवा, सीमा क्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणाको हानले स्वागत गरेको छ ।


क्लिकमान्डु