वीरेन्द्रको वंश नाश भएको दरबार हत्याकाण्डको २३ वर्ष पूरा



काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्ड भएको थियो ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्डलाई कतिपयले अहिले पनि रहस्यकै गर्भका रुपमा लिने गरेका छन् ।

हत्याकाण्डपछि छानबिन भएको थियो । तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गर्न सकिरहका छैनन् ।

घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग त्यतबेला उठेको भए पनि त्यहो हुन सकेन।

वीरेन्द्रको वंश नाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनाइएका थिए । राजा बनेका ज्ञानेन्द्रले सक्रिय राजनीति गरेपछि भएको आन्दोलनले राजतन्त्र हटाउँदै देशमा गणतन्त्र स्थापना भएको छ ।


क्लिकमान्डु