पूर्वमिस फिनल्यान्डले निर्मल पुर्जामाथि लगाइन् यौन दुर्व्यवहारको आरोप



काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई)माथि फिनल्याण्डकी एक युवतीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबर्जस्ती वस्त्रहरु खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ ।

तर लोताले गत डिसेम्बरमा प्रकाशन गरेको बायोग्राफी ‘द माउन्टेन्स अफ माइ लाइफ २’मा उनले यस्तो आरोपको पहिलो पटक खुलासा गरेकी थिइन् । पुस्तकमा उनले एक चर्चित आरोहीले दुर्व्यवहार गरेको उल्लेख गरे पनि पुर्जाको नाम भने खुलाएकी थिइनन् ।

बिहीबार मे ३१ मा प्रकाशित न्युयोर्क टाइम्सको समाचारमा भने पुर्जाको नाम किटान गरेर उनले आरोप लगाएकी छन् । जहाँ उनले पुर्जाले गरेको दुर्व्यवहारबारे विस्तृतमा प्रतिक्रिया दिएकी छन् । फिनल्यान्डकी युवतीसँगै अर्की एक अमेरिकी आरोहीले पनि पुर्जाले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । निर्मल पुर्जाले भने यस आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसवाहेक निर्मल पूर्जले सगरमाथा आरोहणबारे पनि भ्रामक सूचना फैलाएको र त्यसबाट अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले छानबिन गर्ने भएको छ ।


क्लिकमान्डु