यात्रुलाई जातीय विभेद गरेको भन्दै अमेरिकन एयरलाइन्समाथि मुद्दा



एजेन्सी । अमेरिकामा तीन अस्वेत युवाहरुले आफूहरुमाथि रंगभेद गरेको भन्दै अमेरिकन एयरलाइन्सविरुद्ध मुद्दा दायर गरेका छन् । जहाँ उनीहरुले शरीरको गन्धको विषयलाई लिएर एयरलाइन्सले केही समयका लागि उडानमा प्रतिबन्ध लगाएको उनीहरुको आरोप छ ।

उनीहरुले ५ जनवरीमा फिनिक्सको एरिजोनाबाट न्युयोर्कको उडानमा प्रत्येक अस्वेत नागरिकहरुलाई उडानमा प्रतिबन्ध लगाएको दाबी गरेका छन् । “अमेरिकन एयरलाइन्सले कालो भएकै कारण हामीलाई अलग व्यवहार गरेको थियो । जसले हामीलाई हिनतावोध र अपमानित महसुस गराएको छ,” उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् । अमेरिकन एयरलाइन्सले भने यस घटनामा छानबिन गरिरहेको जनाएको छ । साथै यस्तो व्यवहार गर्ने कम्पनीको कुनै नीति नभएको पनि अमेरिकन एयरलाइन्सले जनाएको छ ।

उपभोक्ता अधिकारको पक्षमा वकालत गर्ने पब्लिक सिटिजनद्वारा दायर गरिएको मुद्दा अनुसार, ती पुरुषहरुले आफ्नो सिट लिइसकेका थिए र फिनिक्सबाट प्रस्थान गर्ने तयारीमा थिए । तर फ्लाइट एटेन्डेन्ट उनीहरुसँग आएर विमान बाहिर गइदिनका लागि आग्रह गरेका थिए ।

त्यस क्रममा एल्भिन ज्याकसन, एम्यानुएल जिन जोसेफ र जेभियर भिल एलेग विमान बाहिर निस्किएका थिए । उनीहरुले उडानको क्रममा हरेक अस्वेत मानिसहरुलाई हटाइएको बताएका छन् । प्लेनको गेटमा एक जना स्वेत युवकले उनीहरुको शरीरबाट गन्ध आएको भन्दै गुनासो गरेपछि हटाउनु परेको सात जना अस्वेत पुरुषहरुलाई जवाफ दिइएको थियो ।

तर यसरी हटाउनुको कारण रंग र छालाभन्दा अन्य कुनै पनि नभएको भन्दै उनीहरुले आफूहरुमाथि रंगको आधारमा विभेद गरिएको उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । “उनीहरुको स्पष्टिकरणमा हाम्रो रंग र छालाभन्दा अन्य कुनै पनि कारण थिएन,” अस्वेत युवकहरुले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, “यो स्पष्ट रुपमा जातीय भेदभाव थियो ।”

अमेरिकन एयरलाइन्सका कर्मचारीहरुले ती युवकहरुलाई अर्को उडानमा फेरि उडान गराउने तयारी गरेका थिए । तर फरक उडानको तालिकाका कारण न्युयोर्कमा कुनै सुविधा उपलब्ध नहुने भन्दै अस्वेत युवकहरुले आफ्नो नियमित तालिकाको उडानको आफ्नै सिटमा बस्न पाउनुपर्ने बताएका थिए ।

अमेरिकन एयरलाइन्सले भने एक विज्ञप्ति जारी गर्दै आफूहरुले यस्तो भेदभावको उजुरीलाई गम्भीरतासाथ लिने भन्दै आफ्ना हरेक ग्राहकहरुलाई आफ्नो उडानमा सकारात्मक अनुभव गराउने आफ्नो उद्देश्य रहेको उल्लेख गरेको छ । साथै एयरलाइन्सले त्यस घटनाको छानबिन गर्ने पनि बताएको छ ।

ती अस्वेत पुरुषहरुले आफूहरु विमान बाहिर बसिरहेका बेला पाइलटले यात्रुहरुलाई “शरीरको गन्ध”का कारण उडान डिले भएको बताएको कुरा पनि उजुरीमा उल्लेख गरेका छन् । उडान डिले भएपछि आफ्नो सिटमा बस्न खोज्दा गन्धलाई लिएर गुनासो गर्ने स्वेत यात्रुले आफूहरुलाई आशंका र क्रोधको भावमा घुरेर हेरिरहेको पनि उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । त्यस्तो कुराले पनि आफूहरु अपमानित महसुस गरेको उनीकरुहो भनाइ छ ।


क्लिकमान्डु